सहिदहरूको बलिदानकै कारण देशमा गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता छ : प्रचण्ड

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदहरूको अमूल्य बलिदानकै कारण देशमा गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता भएको बताएका छन् ।

शुक्रबार सहिद  दिवसको अवसरमा श्रद्धाञ्जली दिँदै उनले सहिदहरूको सपना अझै पूर्ण नभएको र सामाजिक न्याय, आर्थिक समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र राष्ट्रिय स्वाधीनताको संघर्ष अझै जारी रहेको उल्लेख गरे । ती अधुरा सपना पूरा गर्न समर्पित हुन सके मात्र यो दिवस मनाउनुको सार्थकता रहने बताए । 

नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको इतिहास भएको र  सामन्ती राणा शासनविरुद्ध लखन थापा, बाँकावीरदेखि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको बलिदान, किसानका पक्षमा भीमदत्त पन्तको संघर्ष, पञ्चायती कालदेखि जनयुद्ध, जनआन्दोलन, मधेश, थारूलगायतका समुदायका आन्दोलन र पछिल्लो जेन–जी आन्दोलनका सहिदहरूको बलिदानको साझा उद्देश्य सामन्तवाद, उत्पीडन र विभेदको अन्त्य गर्दै लोकतन्त्र, समानता, न्याय र जनताको सुशासन स्थापना गर्नु भएको बताए । 

उनले भने, ‘आज हामी सबैलाई आत्मसमीक्षा गर्न, विचलित नभई जनताको पक्षमा दृढतापूर्वक उभिन र संघर्षको बाटोमा अगाडि बढ्न नयाँ संकल्प गर्ने दिन हो। आउनुहोस्, उपलब्धिहरूको जगमा टेकेर समुन्नत समाजवादी नेपाल निर्माणको दिशामा अघि बढ्ने प्रतिबद्धता गरौँ।’ 
 

See More On

सुझावित समाचार