राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आफू सहिदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेको बताएका छन् । सहिद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, 'सहिदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन ।'
'अहिले हामी ती सहिदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौं । लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रुपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ', उनले भनेका छन्- 'अब समय आएको छ। सहिदका रगतलाई सम्मान गर्दै वहाँहरुको सपना पुरा गर्ने, सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने ।'
बालेनले सामाजिक सञ्जालमार्फत जारी गरेकाे सन्देश
राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालिन राज्यले क्रुरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ । त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन । यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्यो । ८५ वर्षमा पटक-पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन ।
पटक-पटक नेपाली जनता सहिद भए तर सहिदका सपना पुरा हुन सकेनन् । ८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो ।
अहिले हामी ती सहिदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौं । लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रुपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ ।
राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ । यी सहिदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामीकसैलाई छैन । अब समय आएको छ- सहिदका रगतलाई सम्मान गर्दै वहाँहरुको सपना पुरा गर्ने । सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने ।
यसपटकको सहिद दिवस सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको स्मरण गर्दै वहाँहरुको बलिदानीलाई सार्थक पार्न मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो । फेरी कसैले सहिद बन्नु नपरोस्! सम्पूर्ण सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली, सम्मान ।