चालू आर्थिक वर्ष ०८२/८३ को दोस्रो त्रैमाससम्म (६ महिनामा) २० वटा वाणिज्य बैंकहरूले ३० अर्ब ५९ करोड खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो । चालू आवमा ब्याजबापतको आम्दानी बढ्दा त्यसको प्रभाव खुद नाफामा देखिएको छ । समीक्षा अवधिमा बैंकहरूले कुल ९६ अर्ब पाँच करोड ब्याज आम्दानी गरेका छन् । गत आवको ६ महिनामा ९२ अर्ब ६० करोड ब्याजबापत आम्दानी गरेका थिए ।
आम्दानीमा सुधार आएसँगै खुद नाफामा वृद्धि हुँदा समग्रमा बैंकहरूले तिर्ने आयकर पनि १५.३३ प्रतिशतले बढेको छ । चालू आवको ६ महिनामा बैंकहरूले १३ अर्ब ५६ करोड आयकर तिरेका छन् । गत आवको सोही अवधिमा ११ अर्ब ७६ करोड आयकर तिरेका थिए ।
सेयरधनीले लगानी गरेको सेयरबाट प्राप्त हुने औसत प्रतिफल (रिटर्न अन इक्विटी) ८.२४ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा ८.०१ प्रतिशत मात्रै थियो । बैंकको सम्पत्तिका आधार प्राप्त हुने औसत प्रतिफल (रिटर्न अन एसेट) भने ०.८३ प्रतिशतबाट ०.७८ प्रतिशत कायम छ । कर्जा असुली प्रभावित हुँदा निष्क्रिय कर्जाको अनुपात ४.४८ प्रतिशतबाट बढेर ५.०७ प्रतिशत कायम भएको छ । निष्क्रिय कर्जामा कर्जा नोक्सानी व्यवस्थाको अनुपात ११४.४१ प्रतिशतबाट बढेर ११६.५९ प्रतिशत कायम भएको छ । यसले बैंकहरूको वासलातमा दबाब सिर्जना गरेको छ । वाणिज्य बैंकहरूको कर्जा निक्षेपको औसत अनुपात ७९.०९ प्रतिशतबाट घटेर ७३.६६ प्रतिशत कायम भएको छ ।
दोस्रो त्रैमासमा कुनको नाफा बढ्यो, कुनको खस्कियो ?
स्ट्यान्डर्ड चार्टर्ड बैंक : स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ६ महिनामा एक अर्ब ३७ करोडमा सीमित भएको छ । यो गत वर्षको सोही अवधिको एक अर्ब ६४ करोडको तुलनामा उल्लेख्य गिरावट हो । ब्याज आम्दानी पनि दुई अर्ब १७ करोडबाट घटेर एक अर्ब ९७ करोडमा झरेको छ । बैंकले यो अवधिमा ५८ करोड ८५ लाख आयकर तिरेको छ । यो गत वर्षको ७० करोड ३१ लाखको तुलनामा कमी हो ।
ग्लोबल आइएमई बैंक : ग्लोबल आइएमई बैंकले चालू आवको ६ महिनामा तीन अर्ब २५ करोड खुद नाफा कमाएको छ । यो गत वर्षभन्दा केही सुधार हो । यद्यपि, ब्याज आम्दानी भने आठ अर्ब २९ करोडबाट घटेर आठ अर्ब दुई करोडमा झरेको छ । बैंकले एक अर्ब १३ करोड आयकर तिरेको छ । यो गत वर्षकै हाराहारी हो ।
हिमालयन बैंक : हिमालयन बैंकको खुद नाफा एक अर्ब ५१ करोडबाट घटेर एक अर्ब २९ करोडमा झरेको छ । ब्याज आम्दानीमा पनि पाँच अर्ब २३ करोडबाट चार अर्ब ७० करोडमा सीमित भएको छ । कर्जा प्रवाह सुस्त हुनु र प्रोभिजन खर्च बढ्नु बैंकका लागि चुनौती बनेको देखिन्छ । बैंकको आयकर ६५ करोडबाट घटेर ५३ करोड भएको छ ।
सानिमा बैंक : सानिमा बैंकले चालू वर्षको ६ महिनामा एक अर्ब ३९ करोड खुद नाफा कमाएको छ । यो गत वर्षको एक अर्ब १९ करोडभन्दा बढी हो । ब्याज आम्दानी पनि दुई अर्ब ८७ करोडबाट बढेर तीन अर्ब ४२ करोड पुगेको छ । बैंकको आयकर ३६ करोडबाट बढेर ५५ करोड रुपैयाँ पुगेको छ ।
नेपाल एसबिआई बैंक : नेपाल एसबिआई बैंकको नाफा ९० करोडबाट बढेर एक अर्ब तीन करोड पुगेको छ । ब्याज आम्दानी पनि दुई अर्ब २९ करोडबाट दुई अर्ब ५६ करोड पुगेको छ । बैंकले ४४ करोड २० लाख रुपैयाँ आयकर तिरेको छ ।
प्राइम कमर्सियल बैंक : प्राइम कमर्सियल बैंकले दुई अर्ब चार करोड खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा सुधार हो । ब्याज आम्दानी पनि चार अर्ब ४१ करोडबाट चार अर्ब ६५ करोड पुगेको छ । बैंकको आयकर ७९ करोडबाट बढेर ८७ करोड रुपैयाँ पुगेको छ ।
सिद्धार्थ बैंक : सिद्धार्थ बैंकको नाफा चालू वर्षमा ५३ करोडबाट उफ्रिएर एक अर्ब ३२ करोड पुगेको छ । ब्याज आम्दानी पनि चार अर्ब ११ करोडबाट चार अर्ब ३२ करोड पुगेको छ । सिद्धार्थ बैंकको आयकर २३ करोडबाट एकाएक बढेर ६१ करोड रुपैयाँ पुगेको छ ।
सिटिजन्स इन्टरनेसनल बैंक : सिटिजन्स बैंकको खुद नाफा ६६ करोडबाट घटेर ३५ करोडमा झरेको छ । यद्यपि, ब्याज आम्दानी भने तीन अर्ब सात करोडबाट तीन अर्ब १४ करोड पुगेको छ । ब्याज आम्दानी बढे पनि प्रोभिजन र सञ्चालन खर्चले नाफा खुम्चिएको देखिन्छ । बैंकको आयकर २६ करोडबाट घटेर १५ करोड रुपैयाँमा झरेको छ ।
एभरेष्ट बैंक : एभरेष्ट बैंकको खुद नाफा दुई अर्ब ११ करोड पुगेको छ । यो गत वर्षभन्दा थोरै बढी हो । ब्याज आम्दानी पनि चार अर्ब ३१ करोडबाट चार अर्ब ५७ करोड पुगेको छ । बैंकले एक अर्ब पाँच करोड रुपैयाँ आयकर तिरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक : बैंकको खुद नाफा ७६ करोडबाट बढेर एक अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । ब्याज आम्दानी पनि चार अर्ब ४० करोडबाट ६ अर्ब १० करोड पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको आयकर ३२ करोडबाट बढेर ७५ करोड रुपैयाँ पुगेको छ ।
नबिल बैंक : नबिल बैंकले चार अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाउँदै बैंकिङ क्षेत्रको अग्रणी स्थान कायम राखेको छ । ब्याज आम्दानी पनि सात अर्ब ८९ करोडबाट बढेर आठ अर्ब आठ करोड पुगेको छ । नबिल बैंकले चालू अवधिमा एक अर्ब ८५ करोड रुपैयाँ आयकर तिरेको छ । यो गत वर्षको एक अर्ब ३९ करोडभन्दा निकै बढी हो । खुद नाफामा अग्रस्थानमा रहेकाले आयकरमा पनि नबिल सबैभन्दा ठुलो योगदानकर्ता बनेको छ ।
नेपाल बैंक : नेपाल बैंकको नाफा ४६ करोडबाट उक्लिएर एक अर्ब ३० करोड रुपैयाँ पुगेको छ । ब्याज आम्दानी भने चार अर्ब ६२ करोडबाट घटेर चार अर्ब ४४ करोडमा सीमित भएको छ । नेपाल बैंकको आयकर २२ करोड रुपैयाँ पुगेको छ ।
प्रभु बैंक : प्रभु बैंकको खुद नाफा एक अर्ब ३३ करोडबाट घटेर एक अर्ब एक करोडमा झरेको छ । ब्याज आम्दानी भने चार अर्ब ८६ करोडबाट चार अर्ब ९८ करोड पुगेको छ । बैंकको आयकर एक अर्ब १८ करोडबाट घटेर ९५ करोडमा झरेको छ ।
एनएमबि बैंक : एनएमबि बैंकको नाफा दुई अर्बबाट घटेर एक अर्ब ६४ करोडमा झरेको छ । ब्याज आम्दानी भने चार अर्ब २५ करोडबाट बढेर चार अर्ब ७७ करोड पुगेको छ । बैंकको आयकर ८३ करोडबाट घटेर ६८ करोड रुपैयाँमा झरेको छ । ब्याज आम्दानी बढे पनि नाफा घटेकाले कर तिर्ने क्षमता कमजोर भएको देखिन्छ ।
एनआइसी एसिया बैंक : एनआइसी एसिया बैंकको खुद नाफा १५ करोडबाट घटेर १३ करोडमा झरेको छ । ब्याज आम्दानीमा भने ठुलो गिरावट देखिँदै पाँच अर्ब १८ करोडबाट चार अर्ब ३६ करोडमा झरेको छ । एनआइसी एसिया बैंकले पाँच करोड ६२ लाख रुपैयाँ आयकर तिरेको छ । यो गत वर्षभन्दा कम हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : बैंकको खुद नाफा दुई अर्ब ८३ करोडबाट घटेर एक अर्ब ६१ करोडमा झरेको छ । ब्याज आम्दानी पनि सात अर्ब ३६ करोडबाट ६ अर्ब ४२ करोडमा झरेको छ । बैंकको आयकर एक अर्ब २१ करोडबाट घटेर ७२ करोड रुपैयाँमा झरेको छ ।
माछापुच्छ्रे बैंक : माछापुच्छ्रे बैंकको नाफा ८० करोडबाट बढेर एक अर्ब एक करोड पुगेको छ । ब्याज आम्दानी पनि दुई अर्ब ८२ करोडबाट दुई अर्ब ९४ करोड पुगेको छ । माछापुच्छ्रे बैंकको आयकर ३४ करोडबाट बढेर ४३ करोड रुपैयाँ पुगेको छ ।
लक्ष्मी सन्राइज बैंक : लक्ष्मी सन्राइज बैंक सबैभन्दा कमजोर देखिएको छ । गत वर्ष एक अर्ब १६ करोड नाफा कमाएको बैंक चालू वर्षमा २७ करोड घाटामा गएको छ । ब्याज आम्दानी भने पाँच अर्ब १९ करोडबाट पाँच अर्ब २४ करोड पुगेको छ । खराब कर्जा र प्रोभिजन मुख्य समस्या बनेका छन् । बैंकले चालू अवधिमा एक रुपैयाँ पनि आयकर तिरेको छैन । बैंक घाटामा गएकाले कर दायित्व शून्य भएको हो ।
कुमारी बैंक : कुमारी बैंकले सबैलाई चकित पार्दै नाफा २७ करोडबाट उक्लिएर दुई अर्ब ७२ करोड पुर्याएको छ । ब्याज आम्दानी पनि पाँच अर्ब ३१ करोडबाट ६ अर्ब ७८ करोड पुगेको छ । बैंकको आयकर ४१ करोडबाट बढेर एक अर्ब ६२ करोड पुगेको छ । नाफामा आएको असाधारण वृद्धिको प्रत्यक्ष लाभ सरकारको कर संकलनमा परेको छ । यो वर्ष सबैभन्दा बढी सुधार गर्ने बैंक कुमारी बनेको छ ।
कृषि विकास बैंक : कृषि विकास बैंकको खुद नाफा ९५ करोडबाट घटेर ७० करोडमा झरेको छ । ब्याज आम्दानी भने तीन अर्ब ८७ करोडबाट चार अर्ब ५१ करोड पुगेको छ । कृषि विकास बैंकको आयकर ३९ करोडबाट घटेर ३० करोड रुपैयाँमा झरेको छ । नाफा घटेकाले कर योगदान पनि खुम्चिएको छ ।