नेपाल प्रहरीको रासन स्केल बढाउने सरकारको निर्णय

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

सरकारले नेपाल प्रहरीको रासन बढाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरेको हो। 

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार १ फागुनदेखि लागु हुने गरी प्रहरीको रासन स्केल र दैनिक रकम बढाउने निर्णय भएको हो। अन्य सुरक्षा निकायको तुलनामा प्रहरीको रासनस्केल कम भएपछि बढाउने निर्णय भएको हो। 

प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार प्रहरीले रासनमा पाउने चामलको मात्रा बढेको छ । हाल दैनिक प्रहरीले ६ सय ९० ग्राम चामल पाउँदै आएकोमा अब सात सय २० ग्राम पाउने छन् । त्यस्तै, दैनिक एउटा अन्डा, २५ ग्राम कुखुराको मासु र २५ ग्राम बिस्कुट पनि थप भएको छ । त्यस्तै, सुख्खा तरकारी(गेडागुडी) दैनिक ५० ग्रामबाट ५५ ग्राम पुगेको छ । यी खाद्यसामाग्री थप हुँदा रासनभत्ता करिब १० प्रतिशतले बढ्ने प्रहरी प्रवक्ता काफ्ले बताए । हाल प्रहरीले नगदमै रासन लिदै आएका छन् । 

हरेक जिल्लामा रासनको दररेट फरक छन् । काठमाडौं उपत्यकामा हाल दैनिक दुई सय १ रुपैयाँ २५ पैसा पाउँदै आएकोमा अब दुई सय २१ रुपैयाँ ९१ पैसा पाउनेछन् । 

सबैभन्दा कम रासनभत्ता झापा जिल्लामा छ । जहाँ दैनिक एक सय ८० रुपैयाँ ५५ पैसा पाउँदै आएकोमा अब एक सय ९९ रुपैयाँ ५५ पैसा पाउने छन् । सबैभन्दा धेरै रासनभत्ता हुम्लाको उत्तरी भेगमा कार्यरत प्रहरीले पाउँछन् । त्यहाँका प्रहरीले दैनिक आठ सय ६३ रुपैयाँ ६५ पैसा पाउँदै आएकोमा अब नौ सय ५२ रुपैयाँ ३६ पैसा पाउने भएका छन् । नयाँ रासनदर १ फागुनदेखि कार्यान्वायनमा आउने गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । 
 

सुझावित समाचार