गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलका क्रममा गृहमन्त्री अर्यालले सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको जानकारी गराएका छन्।
निर्वाचनमा शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकार कटिबद्ध रहेको अर्यालले प्रस्ट पारे। मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुने गरी सुरक्षा योजना बनाई कार्य गरिरहेको र आपराधिक तथा निर्वाचनविरोधी गतिविधिउपर शून्य सहनशीलताको नीति अवलम्बन गरेको छलफलका क्रममा जानकारी दिए।
छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीका क्रममा सरकारबाट प्राप्त सहयोग र समान्वयप्रति धन्यवाद व्यक्त गर्दै निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी गराएका थिए।