भक्तपुरमा चुनावी चहलपहल ह्वात्तै बढेको छ । ०४८ पछि लगातार नेमकिपाले चुनाव जित्दै आएको जिल्लाका रूपमा मात्र होइन, एमाले अध्यक्ष केपी ओलीको बसोबाससमेत रहेकाले २१ फागुनमा हुने भक्तपुरको चुनावी सरगर्मीलाई चासोका नजरले हेर्न थालिएको छ ।
नेमकिपासहित प्रमुख दल कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपासहित स्वतन्त्र उम्मेदवार पहिलो चरणको आन्तरिक योजना र तयारी सकेर मतदाता भेटघाटतिर लागेका छन् । एमाले, नेमकिपा, कांग्रेस, रास्वपा सबै दल दुवै क्षेत्रमा जितको योजना बनाएर विभिन्न रणनीतिसहित चुनावी प्रचारमा व्यस्त हुन थालेका छन् ।
०४८ देखि नै भक्तपुर १ नेमकिपाले निरन्तर जित्दै आएको क्षेत्र हो । यो क्षेत्रमा १६ राजनीतिक दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । नेमकिपाले निवर्तमान सांसद प्रेम सुवाललाई नै पुन: उम्मेदवार बनाएर प्रतिस्पर्धामा उतारेको छ । ०७९ को निर्वाचनको प्रतिद्वन्द्वी एमालेले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकाका पूर्वमेयर सोम मिश्रलाई उम्मेदवार बनाएको छ । कांग्रेसले जिल्ला नेता किरण न्यौपानेलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा कांग्रेससहितको समर्थनमा उम्मेदवार बनेका तत्कालीन माओवादी चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो भएको थियो । यसपटक एकीकृत समाजवादीसँगको एकीकरणपछि बनेको नेकपाले हरिराम लबजूलाई उठाएको छ । राप्रपाले भने यसअघिकै उम्मेदवार भरतबहादुर खड्कालाई दोहोर्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले रुकेश रञ्जितलाई उठाएको छ ।
अन्य पार्टीहरू आम जनता पार्टीका देवेन्द्र ठाकुर, उज्यालो नेपाल पार्टीका रमेश मल्ल, राष्ट्रिय जनमोर्चाका ईश्वरीप्रसाद पैयानी, जसपा नेपालका श्यामसुन्दर शिल्पकार, नेकपा (माओवादी)का चन्द्रमान कोजू, श्रम संस्कृति पार्टीका विष्णुहरि न्हिसुतू, नेकपा संयुक्तका दामोदर काफ्ले, प्रगतिशील लोकतान्त्रिक पार्टीका रवि खाइजूलगायत उम्मेदवार छन् ।
यो क्षेत्रमा नेमकिपा परम्परागत बिरासत जोगाएर मत थप्ने योजनामा छ भने अघिल्लो चुनावको प्रतिद्वन्द्वी एमाले सशक्त ढंगले जित्ने दाउमा लागेको छ । ०७४ सम्म नेमकिपापछिको शक्ति ठान्ने कांग्रेस यसपटक अघिल्लोपटक पार्टीको उम्मेदवार नहुँदा माओवादीलाई दिएको र तितरबितर मत संगठित गरेर मत थपेर संगठन बलियो बनाउने योजनामा छ । कांग्रेसको साथ पाएर गठबन्धन गर्दासमेत चौथो पोजिसनमा देखिएको नेकपाले जितका लागि प्राथमिकता दिएको छैन । राप्रपा मत जोगाउँदै थप्ने योजनामा छ । अघिल्लोपटक उपस्थिति मात्रै जनाएको रास्वपा भने अहिले माहोल देखिएको भन्दै उत्साहित छ ।
भक्तपुर २ मा १७ राजनीतिक दल तथा १५ स्वतन्त्र गरी ३२ जना उम्मेदवार छन् । जसअनुसार अघिल्लो निर्वाचनमा झिनो मतान्तरमा कांग्रेसका दुर्लभ थापा विजयी भएको यस क्षेत्रमा उसले कबिर राणालाई नयाँ उम्मेदवारका रूपमा उतारेको छ । एमालेले पार्टी सचिवसमेत रहेका महेश बस्नेतलाई नै उम्मेदवार बनाएको छ । उनी ०७४ का विजेता तथा ०७९ मा थापाका प्रतिद्वन्द्वी उम्मेदवार पनि हुन् ।
अघिल्लो निर्वाचनमा तेस्रो मत ल्याएको नेपाल मजदुर किसान पार्टीले रमेश वैद्य, चौथो मत ल्याएको रास्वपाले राजीव खत्री, पाँचौँ स्थानको मत ल्याएको राप्रपाले विक्रम थापालाई उम्मेदवार बनाएको छ । नेकपाले भने केन्द्रीय सदस्य तथा वाइसिएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटालाई उम्मेदवार बनाएको छ । आम जनता पार्टीकी देवकुमारी साह, उज्यालो नेपाल पार्टीका जितराम लामा, नेपाली पार्टीका राजेश बाडे, मंगोल नेसनल अर्गनाइजेसनका पेम्बा घले, श्रम संस्कृति पार्टीका अर्जुन वासु, जसपा नेपालका नवीन श्रेष्ठ, नेकपा (माओवादी)का प्रकाशराज ढुंगेल, त्रिमूल नेपालका राकेश श्रेष्ठ, नेकपा संयुक्तका लोककृष्ण दाहाललगायतले उम्मेदवारी दिएका छन् ।
भक्तपुर २ मा कांग्रेस आन्तरिक पक्ष सुदृढ बनाएर अघिल्लो निर्वाचनको जितलाई निरन्तरता दिने गरी चुनावी परिचालनमा अघि बढेको छ । बस्नेत भने अघिल्लोपटकको पराजयबाट पाठ सिकेर पुन: ‘कम ब्याक’ गर्ने रणनीति बनाएर प्रचारमा अघि बढेका छन् । नेमकिपा भने भक्तपुर १ मा गरेको विकास निर्माणलाई प्रचार गरेर जितको प्रयत्नमा देखिन्छ । रास्वपा अघिल्लो निर्वाचनको मत रक्षा गर्दैे माहोल सकारात्मक रहेको मूल्यांकनसहित जित्ने योजनामा अघि बढेको छ । यसअघि सञ्चार क्षेत्रमा युट्युबरका रूपमा सक्रिय खत्रीका लागि क्षेत्र नयाँ भए पनि जितका लागि पार्टीले नै योजना बनाएर कोसिस गरेको छ । नेकपाले युवा क्षेत्रमा क्रियाशील नयाँ अनुहारका रूपमा अघि सारेको उम्मेदवार सापकोटाप्रति आकर्षण बढाएर जित्ने गरी रणनीति बनाएको छ ।
भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता छन् । तीमध्ये एक लाख पाँच हजार २६५ महिला र एक लाख १४० पुरुष तथा पाँचजना अन्य मतदाता छन् । भक्तपुर १ अन्तर्गत चाँगुनारायण र भक्तपुर नगरपालिका पर्दछन् । यी क्षेत्रमा ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला मतदाता गरी एक लाख सात हजार ५४ मतदाता छन् । यो क्षेत्रमा ३७ मतदानस्थल र ११९ मतदान केन्द्र छ ।
भक्तपुर २ मा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाभित्र ४८ हजार ७४ पुरुष, ५० हजार २७७ महिला र पाँचजना अन्य मतदाता गरी ९८ हजार ३५६ मतदाता छन् । यो क्षेत्रमा ३९ मतदानस्थल र ११४ मतदान केन्द्र गरी जिल्लामा कुल ७६ मतदानस्थल र २३३ मतदान छन् ।
प्रत्यक्ष र समानुपातिकतर्फ अघिल्लो निर्वाचनको परिणाम
भक्तपुरमा १ मा ४२ हजार ७६१ मत ल्याई नेमकिपाका प्रेम सुवाल विजयी भएका थिए । प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९६८ मत ल्याएका थिए भने तेस्रो स्थानमा राप्रपाका भरतबहादुर खड्काले नौ हजार २२२ मत तथा चौथो स्थानमा तत्कालीन माओवादी केन्द्रका सुनील गोठेले पाँच हजार १६५ मत पाएका थिए । अन्य उम्मेदवारले ६ सयभन्दा कम ल्याएका थिए ।
२ मा कांग्रेसका दुर्लभ थापा क्षेत्री २४ हजार २३९ मत पाई विजयी भएका थिए भने एमालेका महेश बस्नेतले २३ हजार २८२ पाएका थिए । नेमकिपाकी अनुराधा थापा सात हजार १२७ र रास्वपाका साजन विकले चार हजार ९८ मत ल्याएका थिए ।
समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा नेमकिपाले ३२ हजार ९०४ र २ मा सात हजार ८६३ मत प्राप्त गर्दै कुल ४० हजार ७६७ मत पाएको थियो । प्रदेश सभा २ (२) जितेको एमाले समानुपातिकतर्फ २६ हजार ७० मत प्राप्त गरी जिल्लामा दोस्रो ठुलो दल बनेको थियो । उसले १ बाट आठ हजार १९४ र २ बाट १७ हजार ८७६ मत पाएको थियो ।
त्यस्तै, कांग्रेस २३ हजार ७६९ र राष्ट्रिय स्वतन्त्र पार्टी २३ हजार ६ मत ल्याई क्रमश: तेस्रो र चौथो दल बनेका थिए । कांग्रेसले १ बाट आठ हजार ८७५ र २ बाट १४ हजार ८९४ मत प्राप्त गरेको थियो । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १ बाट ११ हजार ११० र २ बाट ११ हजार ८९६ मत प्राप्त गरेको थियो ।
त्यस्तै, राप्रपा ११ हजार ३९२ मतका साथ पाँचौँ ठुलो दल बनेकोमा १ बाट पाँच हजार ९०३ र र २ बाट पाँच हजार ४८९ मत प्राप्त गरेको थियो । तत्कालीन माओवादी १ बाट एक हजार ३६७ र २ बाट ५ हजार ४८९ सहित कुल चार हजार ९८ मत प्राप्त गरी छैटौँ दल बनेको थियो तत्कालीन एकीकृत समाजवादीले कुल दुई हजार १५२ मत प्राप्त गरेको थियो ।