निर्वाचन परिचालनका लागि प्रदेश, जिल्ला र क्षेत्रमा कांग्रेसको परिपत्र

विजय अभियानका लागि समिति बनाउन निर्देशन

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विजय अभियान व्यवस्थित बनाउन केन्द्रदेखि प्रदेशसम्म समिति र संरचना गठन गर्न क्षेत्रसम्म परिपत्र जारी गरेको छ । चुनाव परिचालन समिति गठन नभएका ठाउँमा अविलम्ब गठन गर्न अनुरोध गर्दै कांग्रेस केन्द्रीय कार्यालयले बुधबार प्रदेश, जिल्ला र क्षेत्रीय समितिलाई पठाएको परिपत्रमा सचिवालयदेखि समिति गठनको ढाँचा पठाएको छ ।

पार्टी उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले हस्ताक्षर गरेर पठाएको परिपत्रमा कांग्रेसले १८ वर्षमाथि र ३० वर्षमुनिका नवयुवालाई सहभागी गराएर १८–३० विशेष अभियान सञ्चालन गर्न पनि निर्देशन दिएको छ । सातै प्रदेश, ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रका पार्टी सभापतिका नाममा कांग्रेसले परिपत्र जारी गरेको छ । कांग्रेसले १२ बुँदामा पठाएको परिपत्रको पहिलो बुँदामा निर्वाचन अभियान व्यवस्थित गर्न पाँचदेखि सातजनाको सानो संख्यामा सचिवालय गठन गर्न भनेको छ । सचिवालयले निर्वाचनमा पार्टी कार्यालय, आन्तरिक व्यवस्थापनदेखि सार्वजनिक प्रस्तुतिसम्मको समन्वय र निर्णय लिने भनिएको छ ।

निर्वाचन परिचालन मूल समितिअन्तर्गत सार्वजनिक कार्यक्रम व्यवस्थापन उपसमिति, महिला समन्वय उपसमिति, तरुण स्वयंसेवक समन्वय र व्यवस्थापन, श्रमिक क्षेत्र समन्वय र परिचालन, कृषि क्षेत्र र कृषक समन्वय र परिचालन, भ्रातृसंस्था समन्वय र परिचालन, शुभेच्छुक संस्था समन्वय र परिचालन उपसमिति गठन गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएको छ । 

प्रचारप्रसार मूल समितिअन्तर्गत मिडिया समन्वय उपसमिति तथा सामाजिक सञ्जाल समन्वय उपसमिति गठन गर्न र सामाजिक सञ्जालको थिममा नवयुवालाई अग्रसर गराउन पनि कांग्रेसले परिपत्र गरेको छ । स्थानीय तह समन्वय समिति, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक संघसंस्था समन्वय समिति, धार्मिक संघसंस्था समन्वय समिति, निजी क्षेत्र समन्वय समिति गठन गर्न पनि कांग्रेस केन्द्रले परिपत्र गरेको छ । कांग्रेसले पूर्वआप्रवासी समन्वय समिति, स्थानीय प्रशासन समन्वय समिति र अनुगमन समिति गठन गर्न पनि निर्देशन दिएको छ । 

सुझावित समाचार