निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचयपत्र र नामावली छापेर जिल्ला पठाउन थालेको छ । यसअघि पहिलो चरणमा एक करोड ८९ लाख तीन हजार ६९९ जनाको रंगीन फोटोसहितको नामावली ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा पठाएको आयोगले त्यति नै संख्याका फोटोसहितको नामावलीको छपाइको काम सकेको हो ।
उम्मेदवार मनोनयनकै वेला आवश्यक हुने भएकाले सबै निर्वाचन केन्द्रमा एक–एक थान पुग्ने गरी यसअघि रंगीन फोटोसहितको नामावली पठाइएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । अब दोस्रो चरणमा पठाउन सादा फोटोसहितको त्यति नै नामावली प्रकाशन भइसकेको उनको भनाइ छ । यो नामावली भने थप निर्वाचन सामग्री पठाउँदा सँगै पठाइनेछ । आयोगले लाहाछाप लगाएर प्याक गरी सेनाको सुरक्षामा निर्वाचन सामग्री ढुवानी गर्ने गरेको छ । ‘मतदाता नामावली दुई प्रकारको पठाउँछौँ, एउटा कलर र अर्को सादा, सबै निर्वाचन केन्द्रमा दुई–दुई थान पुग्ने गरी प्रकाशन गरेका छौँ, यदि पुग्यो भने तीन थानसम्म पनि पठाउने कि भन्ने हाम्रो योजना छ,’ सूचना अधिकारी घिमिरेले भने, ‘तर कम्तीमा दुई/दुई सेट पठाउनैपर्छ, पहिलो चरणमा मतदाताको रंगीन फोटोसहितको नामावली जिल्ला–जिल्लामा पुगिसकेको छ, अब दोस्रो चरणमा पठाउँदै छौँ ।’
मतदाता नामावलीको एउटा पेजमा २८ जनाको फोटोसहित नाम समावेश हुन्छ । मतदान केन्द्र हेरेर मतदाता नामावली संख्या थोरै–धेरै हुन सक्छ । घिमिरेका अनुसार दोस्रो चरणमा मतदाता नामावली पठाउँदा सबैभन्दा पहिले कर्णाली र उच्च हिमाली जिल्लाहरूमा पठाइनेछ । अन्य मतदान सामग्री पठाउँदा पनि सबैभन्दा पहिले अप्ठ्यारा स्थानहरूमा ढुवानी भएपछि मात्रै सहज ठाउँमा ढुवानी गरिनेछ ।
०७९ यता थपिएका मतदातालाई मात्रै मतदाता परिचयपत्र
आयोगले ०७९ यता थपिएका मतदाताको मात्रै मतदाता परिचयपत्र छाप्ने भएको छ । आयोगले सीमित प्रिन्टर भएका कारण मतदाता नामावली प्रकाशन गरेपछि बल्ल मतदाता परिचयपत्र छाप्ने तयारी गरेको हो । परिचयपत्र अन्तिम चरणमा मात्रै वितरण गरिने भएकाले ढिलो प्रकाशन गर्दा पनि फरक नपर्ने सूचना अधिकारी घिमिरेले बताए । ‘यसपटक हामीले सबै परिचयपत्र र नामावली काठमाडौंमै छापिरहेका छौँ । सबैको मतदाता परिचयपत्र छाप्न नपर्ने भएकाले केन्द्रबाटै प्रकाशन गरेर पठाउँदा सहज हुन्छ । ०७९ यता मात्रै थपिएका मतदाताहरूलाई मतदाता परिचयपत्र वितरण गर्छौँ,’ उनले भने, ‘त्यसभन्दा अघिकालाई ०७९ मै मतदाता परिचयपत्र दिएका थियौँ, सबै प्रकाशन गर्दा समय र खर्च लाग्ने भएकाले हामीले नयाँलाई मात्रै दिने भनेका छौँ ।’