वृत्तचित्र ‘मुक्कुमलुङहरू’को पहिलो प्रदर्शन

बुधबार, १५ माघ, २०८२
डिजिटल संस्करण

पाथिभरा अर्थात् मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकार र त्यसविरुद्ध भइरहेको आन्दोलनलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘मुक्कुमलुङहरू : आदिवासीको आस्थामाथि आक्रमण’को पहिलो प्रदर्शन सम्पन्न भएको छ।

मन्डला नाटकघरमा आयोजित प्रदर्शनीमा विभिन्न क्षेत्रका वक्ताहरूले वृत्तचित्र र आन्दोलनका सन्दर्भमा आफ्ना धारणा राखेका थिए। करिब एक घन्टा लामो वृत्तचित्रले मुक्कुमलुङ धार्मिक स्थलको ऐतिहासिक र सांस्कृतिक महत्वसँगै त्यसप्रति आदिवासी समुदायको गहिरो अपनत्वलाई उजागर गरेको छ।

साथै, केबलकार निर्माणप्रति राज्यको शैलीविरुद्ध आवाज उठाइरहेका व्यक्तिहरूको संघर्ष र दृष्टिकोणलाई दस्तावेजीकरण गरिएको छ। केबलकार परियोजनाले जीवजन्तु, वनस्पति तथा समग्र पर्यावरणमा पार्न सक्ने प्रभावमाथि पनि वृत्तचित्रले प्रश्न उठाएको छ।

कार्यक्रममा बोल्दै लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले भाषा, संस्कृति र इतिहासबाट वञ्चित पारिएका समुदायहरूको संघर्षको कथा वृत्तचित्रले प्रभावकारी रूपमा बोलेको उल्लेख गरे। त्यसैगरी, किरात राई यायोख्याका उपाध्यक्ष युवराज राईले संविधानका सुन्दर प्रावधानहरू व्यवहारमा आदिवासी समुदायको हितमा कार्यान्वयन हुन नसकेको बताए।

किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले वृत्तचित्रजस्ता दस्ताबेजहरू स्वयं प्रमाण भएको बताउँदै यस्ता प्रमाणहरू मुक्कुमलुङ संरक्षणविरुद्ध उभिनेहरूलाई देखाउन सकिए धारणा परिवर्तन हुन सक्ने सम्भावना रहेको प्रश्न उठाए।

रविनकुमार नाल्बाे र जीवनप्रकाश शेर्मा सहभागी यस वृत्तचित्रमा मच्छेदेवी गुरुङको सहनिर्देशन तथा भानु बोखिमको निर्देशन रहेको छ।

सुझावित समाचार