नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले आगामी निर्वाचन अग्रगमन र प्रतिगमन पक्षधरहरूको जनमतसंग्रह भएको उल्लेख गरेका छन् । उनले शान्तिपूर्ण र निष्पक्ष रूपमा भाग लिएर दलहरूले आफ्नो भूमिका लयमा फर्काउनुपर्नेमा जोड दिए। बुधबार मोरङको टंकीचौकमा ४ नम्बर क्षेत्रमा नेकपाको निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै नेता गुरुङले शान्तिपूर्ण निर्वाचनमा सहभागी भएर विचारको जित गराउन सके मात्र देश लयमा फर्कन सक्ने भएकाले अग्रगमन पक्षधरहरूले जित सुनिश्चित गराउनुपर्नेमा जोड दिएका हुन्।
दूरदर्शी वैचारिक नेताका रूपमा चिनिँदै आएका गुरुङले प्रतिगमनकारी धारको जित भएमा विदेशी सैन्य हस्तक्षेप बढेर नेपाल भूराजनीतिको रणभूमि बन्ने खतरा रहेकोले लोकतन्त्रवादी दलहरूले जित सुनिश्चित गराए मात्र देश लयमा फर्किन सक्ने बताए । जेन–जी आन्दोलनपछि कांग्रेस र एमाले राष्ट्रिय सहमतिबाट पछि हटेकाले शान्तिसम्झौता पक्षधर दलहरू विभाजित हुन पुग्दा संविधानको रक्षाका लागि देशमा निर्वाचन घोषणा भएकाले अब पुनः नेतृत्वमा फर्केन सके मात्र देशको अस्मिताको सुरक्षा हुन सक्ने बताए ।
जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटको एक मात्र समाधान निर्वाचन भएकोले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा नेकपाले सक्रियतापूर्वक भाग लिएको नेता गुरुङले प्रस्ट पारे ।