कांग्रेसले आगामी ७ फागुनमा धनुषाको जनकपुरधाममा विशेष सभा तथा अन्य क्षेत्रमा क्रमश: केन्द्रीयस्तरको आमसभा गर्ने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले मंगलबार आयोजित पत्रकार सम्मेलनमा देशैभरि कांग्रेसका सभा हुने तथा चाँडै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरिने पनि जानकारी दिए ।
कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा गठित घोषणापत्र समितिले सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी तथा विश्वसनीय कार्यक्रम समावेश गरेर घोषणापत्र तयार पारिरहेको उनले बताए । कांग्रेसले घोषणापत्रमा ‘भिजन–१०’ समेट्ने भएको छ । प्रवक्ता चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यावहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने बताए ।
उनका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ । कांग्रेसले समकालीन राजनीतिक, वैचारिक, नीतिगत तथा समसामयिक विषयमा प्रत्येक दुई दिनमा डबली संवाद कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ ।
कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै दुई दिनभित्र प्रदेश, जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै नगरपालिका/गाउँपालिका र वडा तहसम्म प्रचारप्रसार तथा परिचालन समिति गठन गर्ने भएको छ । देशभरका १६५ निर्वाचन क्षेत्रमा पार्टीका सबै उम्मेदवार कायम रहेको तथा बागी उम्मेदवारमध्ये अधिकांशले मनोनयन फिर्ता लिइसकेको कांग्रेसले जनाएको छ ।
‘उम्मेदवारी दर्ताका क्रममा विद्रोह गरेका केही साथीले मनोनयन फिर्ता लिइसकेका छन् । बाँकी रहेका थोरै स्थानमा पनि उम्मेदवारी स्थगन गरी पार्टीका अन्य उम्मेदवारलाई विजयी बनाउन आह्वान गर्ने क्रम जारी छ,’ चालिसेले भने, ‘विशेष महाधिवेशनपछि गठित नयाँ केन्द्रीय कार्यसमितिले अत्यन्त सीमित समयमा उम्मेदवार चयन, प्रचार र परिचालनका कार्यलाई व्यवस्थित रूपमा सञ्चालन गरिरहेको छ ।’ निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन आयोगको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएको छ । ‘गलत संस्कृतिको विकास नहोस् र प्रतिस्पर्धा मर्यादित रहोस् भन्ने उद्देश्यले आन्तरिक रूपमा थप आचारसंहिता निर्माण गरी मातहतका निकायलाई निर्देशन दिएको छ,’ चालिसेले भने ।