सातादेखि भारतबाट मागभन्दा कम ग्यास आयात भएकाले बजारमा आपूर्ति असहज भएको छ । सबैभन्दा धेरै ग्यास आयात भइरहेको इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरी मर्मतका क्रममा रहेकाले त्यहाँबाट कोटाअनुसार ग्यास लोड हुन सकेको छैन । बरौनीबाट पर्याप्त लोड नहुँदा बजारमा असहजता देखिएको आयल निगमको भनाइ छ ।
तर, मंगलबारदेखि बरौनीबाट ग्यास लोडिङमा सुधार भइसकेको निगमको एभिएसन तथा एलपिजी विभाग प्रमुख विनीतमणि उपाध्यायले जानकारी दिए । ‘सातादेखि लोडिङमा समस्या भइरहेको बरौनीमा मंगलबार ४० बुलेट र दुर्गापुरमा २५ बुलेट ग्यास लोड भएको छ,’ उनले भने, ‘अब नियमित मागअनुसार सबै ठाउँबाट आयात हुन्छ ।’ आइओसीको बरौनी, दुर्गापुर, मथुरा, हल्दिया र पारादीप रिफाइनरीबाट नेपालमा ग्यास आयात भइरहेको छ । यी सबै रिफाइनरीमा मंगलबार साँझसम्म एक सय ४० बुलेट ग्यास लोड भएको उपाध्यायले जानकारी दिए । सामान्य अवस्थामा भने दैनिक ८० देखि एक सय बुलेट ग्यास लोड हुने गर्छ ।
निगमले आइओसीबाट आयात हुने ग्यासको कोटा निर्धारण गरेर उद्योगीलाई ढुवानीको स्वीकृति दिने गरेको छ । त्यसपछि उद्योगीले आइओसीको विभिन्न रिफाइनरीबाट आयात गरेर सिलिन्डरमा रिफिलिङ गर्ने र बजार पठाउने गर्दै आएका छन् । देशभर ५९ ग्यास उद्योग छन् । आयल निगमले सीमित उद्योगीलाई कोटा बढाएको र अन्यलाई विभेद गर्न थालेकाले गुनासो पनि बढेको छ । जसकारण उद्योगीमा असन्तुष्टि बढेर पनि आयात प्रभावित भएको स्रोतको भनाइ छ ।
त्यस्तै, ग्यास ढुवानीमा प्रयोग हुने भारतीय बुलेटको भाडा भुक्तानीमा विलम्ब भएको र कतिपय बुलेटले नेपालमा छाडेर भारततर्फ नै काम गरिरहेकाले पनि समयमा ग्यास आयात हुन नसकिरहेको स्रोतको भनाइ छ ।
आपूर्ति सहज गराउन ध्यानाकर्षण
ग्यास विक्रेता महासंघले मंगलबार दिउँसो आयल निगम पुगेर आपूर्ति सहजताका लागि पहल लिन ध्यानाकर्षण गराएको छ । महासंघ उपाध्यक्ष विष्णु दुलालले मागअनुसार डिलरकहाँ ग्यास नआएकाले उपभोक्ताको गुनासो बढ्दै गएको बताए । ‘बजारमा मागअनुसार ग्यासको आपूर्ति नभएको विषयमा आयल निगमलाई ध्यानाकर्षण गराएका छौँ । अहिले बजार मागअनुसार डिलरकहाँ ग्यास पाइएको छैन । त्यसैले उपभोक्ताहरू हामीलाई गुनासो गर्दै फर्किने गर्नुभएको छ,’ उनले भने ।
खपत बढ्ने सिजनमा आयातमा समस्या
जाडोमा ग्यासको खपत १५ प्रतिशत वृद्धि हुने गर्छ । खपत बढ्ने वेला आयातमा आएको गिरावटले बजारमा ग्यास अभावको हल्ला चलिसकेको छ । आयल निगमका निर्देशक विनीतमणि उपाध्यायले अभाव हुन नदिने गरी आयात र वितरणको व्यवस्थापन भइसकेको दाबी गरे । अघिल्लो महिना (फेब्रुअरी) ४७ हजार टन ग्यास आयात भएकोमा अहिले (जनवरी) ५० हजार टन ग्यास आयातका लागि आइओसीबाट स्वीकृति लिएको उनले जानकारी दिए । त्यसमध्ये मंगलबारसम्म ३७ हजार टन आयात भइसकेको छ । ‘यो महिनाका लागि तोकिएको कोटाअनुसार ९० प्रतिशत ग्यास उठ्ने व्यवस्थापन भइसकेको छ,’ उनले भने, ‘त्यसैले अभावको हल्लामा विश्वास नगर्न आग्रह गर्छु ।’
निगमले आइओसीबाट ग्यास आयातको कोटा मात्रै निर्धारण गर्ने र आयात, भण्डारण तथा वितरणको कार्य उद्योगीले गर्ने भएकाले भण्डारगृह छैन । ५९ वटा उद्योगमा साना क्षमताका ‘रिफिलिङ बुलेट’ मात्रै छन् । यी बुलेटमा ग्यास भण्डारण हुँदैन । भारतबाट ल्याएको ग्यास खन्याएर सिलिन्डरमा हालेर बजार पठाउने मात्रै गरिएको छ । आयल निगमले ६ वर्षदेखि सर्लाहीमा पाइपलाइनबाट ग्यास आयात गर्ने र सानो क्षमताको भण्डारगृह बनाउने योजना बनाए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।