विभागीय टोली त्रिभुवन आर्मीले राष्ट्रिय लिग फुटबल प्रतियोतिगामा शीर्ष स्थानमा रहेको लालीगुराँस एसोसिएसनलाई मंगलबार गोलरहित बराबरीमा रोक्न सफल भएको छ । जारी लिगमा लालीगुराँसले पहिलोपटक अंक बाँडेको हो । यसअघि उसले लिगको पहिलो खेलमै ‘ए’ डिभिजनका अनुभवी क्लब जावलाखेल युथमाथि १–० को जित निकालेको थियो । दोस्रो खेलमा लालीगुराँसले नव जनजागृतिलाई ४–१ र नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध पारेको थियो ।
राष्ट्रिय लिगमा आर्मीले दोस्रोपटक बराबरी खेलेको हो । लिगको चार खेलमा तीन जित र एक बराबरी नतिजा निकालेको लालीगुराँसले सर्वाधिक १० अंक बनाएको छ । आर्मीले चार खेलमा समान दुई जित र बराबरी खेल्दै आठ अंक जोडेको छ । आर्मी लिगको पाँचौँ स्थानमा छ । प्रतिस्पर्धामा आर्मी र लालीगुराँसले गोल अवसर पाएका थिए । तर, दुवैले डिफेन्स रणनीति बलियो बनाउँदा स्ट्राइकरले गोल गर्न चुके । आर्मीले शारीरिक तथा प्राविधिक रूपमा लालीगुराँसमाथि दबाब राख्ने कोसिस गरेको थियो ।
लालीगुराँसले आक्रामक शैलीमा प्रतिस्पर्धा गरी आर्मीमाथि दबाब बनाए पनि स्कोरिङ गर्न सकेन । राष्ट्रिय लिमा लाली गुराँस पहिलोपटक सहभागी भएको मोसफलको क्लब हो । दुई महिनाअघि एन्फा प्रेसिडेन्ट कपको विजेताका रूपमा उसले राष्ट्रिय लिगमा स्थान बनाएको थियो ।
साधारणसभाकै निर्णय उल्टाएको आरोप
अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिकै सदस्यहरूले अध्यक्ष पंकजविक्रम नेम्वाङले गत वैशाखमा भएको साधारणसभाकै निर्णय उल्ट्याएको दाबी गरेका छन् । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही तथा कार्यसमिति सदस्यहरू रुपेश अधिकारी र रवीन्द्रचन्द ठकुरीले मंगलबार विज्ञप्ति जारी गर्दै गत वैशाखमा धुलिखेलमा भएको साधारण सभाले नै जिल्ला, प्रदेशपछि केन्द्रको एन्फा निर्वाचन हुने निर्णय गरेको बताएका छन् । ‘धुलिखेलमा भएको साधारणसभाले तहगतपछि मात्र केन्द्रमा निर्वाचन हुने निर्णय भएको थियो, तर पंकज नेतृत्वको एन्फाले ती निर्णय उल्ट्याएर अर्ली इलेक्सनको घोेषणा गरेको छ,’ उपाध्यक्ष शाहीले भने । गत १६ पुसमा एन्फाको कार्यसमितिले आगामी २८ माघमा निर्वाचनको मिति तोकेको थियो । त्यसपछि एन्फा निर्वाचन गर्ने निर्णय विवाद बन्यो । अहिले उच्च अदालत पाटनमा मुद्दा विचाराधीन छ ।