यातायात व्यवस्था कार्यालय, चाबहिलका प्रमुख पेसलकुमार पोखरेलसहित १७ जना कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयेगको छानबिनमा तानिएका छन्। आयोगले मंगलबार उनीहरूको २५ वटा मोबाइल जफत गरेर छानबिन थालेको छ।
लाइसेन्स वितरणमा सेटिङ हुने सूचनाका आधारमा आयोगले केही दिन प्रमाण संकलन गरी मंगलबार मोबाइल जफत गरेको हो। परीक्षामा फेल भएकालाई पास गराएर १५ हजार रुपैयाँ असुलेर लाइसेन्स दिने गरेको सूचना आयोगसँग छ। साथै, लिखित परीक्षामा फेल भएकाहरू तीन महिना नपुगी पुनः परीक्षा दिन नपाइनेमा घुस लिएर उनीहरूलाई समेत परीक्षामा सहभागी गराएको प्रमाण आयोगले फेला पारेको छ।
त्यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका असइ डोरमणि नेपालसहित तीन ट्राफिक प्रहरीको पनि मिलेमतोको आशंकमा आयोगले उनीहरुको पनि मोबाइल नियन्त्रणमा लिएको छ। यसमा उपत्यका ट्राफिक प्रहरी कार्यालयकै मिलेमतोको आशंका गरिएको छ। गोकर्णेश्वरस्थित नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर, सञ्चालक बालकृष्ण सिंहले बिचौलियाका रूपमा यस्तो सेटिङ मिलाउँदै आएका थिए। सिंहसहित उनको टिमका नौजनाको मोबाइल पनि आयोगले लिएर छानबिन थालेको छ। मोबाइलमै उनीहरूले सेटिङ हुने व्यक्तिहरूको नाम पठाएर डिल गर्दै आएको आयोगको सूचना छ।