तीन थान एकनाले भरुवा बन्दुक र बन्दुकसँग सम्बन्धित विभिन्न सामग्रीहरूसहित स्याङ्जाबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरुवा अर्चलेबाट खटिएको विशेष सर्च अपरेसन टोलीले बिरुवा गाउँपालिका– २, झागडीस्थित झाडीबाट दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए।
अपरेसनमा गएको प्रहरी टोलीले लुकाइछिपाई राखेको अवस्थामा भरुवा बन्दुकसँगै बन्दुकसँग सम्बन्धित बारुद, छर्रा, छुच्ची, डेटोनेटर, शिशा, सेफ्टी फ्युज, गन्धक, केपलगायतका सामग्रीहरूसहित बिरुवा– २, झागडी बस्ने ६६ वर्षका रोमबहादुर राना र सोही स्थान बस्ने ६९ वर्षका वीरबहादुर थापालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुईमध्ये रोमबहादुरलाई फलामको गजसहितको एकनाले भरुवा बन्दुक दुई थान, बारुद ४८० ग्राम, छर्रा १३५ थान, फलामको चिम्टा दुई थान, फलामको छुच्ची एक थान, सोडा एक किलो ३०० ग्राम, डेटोनेटर ६ थान, आठ फिट नौ इन्च लम्बाइ भएको सेफ्टी फ्युज एक थान, गन्धक ४५० ग्राम, प्लास्टिक एक्सप्लोसिभ किरकी १६० ग्राम, खोका नभएको बुलेट १० थान, खाली खोका एक थान, केप आठ थान, बाघको दाह्राजस्तो देखिने नुकिलो वस्तु एक थानसहित झागडीस्थित सामुदायिक जंगलको ओडारबाट नियन्त्रणमा लिएको हो।
यसैगरी, वीरबहादुरलाई फलामको गजसहितको एकनाले भरुवा बन्दुक एक थानसहित झागडीस्थित घर नजिकैको झाडीबाट नियन्त्रणमा लिएको चौधरीले जानकारी दिए। पक्राउ परेका उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।