राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारका क्रममा कैलाली आइपुगेका छन्। बर्दियाबाट आज बिहान कैलाली पुगेका शाहले टीकापुर, लम्की, सुखडमा मतदाता भेटघाट गरेका छन्। बालेन अत्तरिया र त्यहाँबाट धनगढी आउँदै छन्।
उनी कैलाली क्षेत्र नम्बर २ अन्तर्गत लम्कीमा रास्वपाको कार्यालय पुगेका थिए । यो क्षेत्रबाट युवा अभियन्ता केपी खनाललाई रास्वपाले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । बालेन आएपछि कैलालीमा राजमार्गका विभिन्न ठाउँमा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए। राजमार्गअन्तर्गत बौनियामा रास्वपाका कार्यकर्ता र समर्थक जम्मा भएका थिए, त्यहाँ भने बालेन रोकिएनन् । समन्वयको कमीका कारण त्यहाँ बालेनलाई रोक्न नसकिएको रास्वपाका नेताहरूले बताएका छन्।
बालेन अहिले अत्तरिया हुँदै धनगढी आउने र यहाँबाट कञ्चनपुरको पुनर्वास, झलारी हुँदै महेन्द्रनगर जाने रास्वपा कैलालीका सभापति महेश चौधरीले जानकारी दिए। धनगढीमा उनी यो क्षेत्रका रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्दको चुनावी सचिवालयको कार्यालय पुग्नेछन्। महेन्द्रनगरपछि उनी सुदूरपश्चिमका पहाडी जिल्ला जाँदै छन् ।