राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६१औँ वार्षिकोत्सव मनाएको छ । बैंकले शनिबार एक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । कार्यक्रमकमा प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले बैंकले सञ्चालनमा ल्याएका १२ वटा शाखा कार्यालयको डिजिटल माध्यमबाट उद्घाटन गरे । यसका साथै खनालले बैंकको नयाँ प्रडक्ट ‘आरबिबी फोन लोन’को पनि औपचारिक सुरुवात गरे ।
यस्तै, बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले नेपाल सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई टेवा पुग्ने गरी बैंकिङ सेवाहरूको विस्तार गर्दै बैंकले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा प्रवाह गरिरहेको जानकारी गराए । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान स्थिति र समग्र योजनाबारे प्रकाश पारेका थिए ।
प्रमुख कार्यकारी अधिकृत खनालले कर्मचारीले समग्र देशको उत्पादन, रोजगारी एवं आय वृद्धिमार्फत आर्थिक रूपमा सबल र सक्षम अर्थतन्त्र निर्माणका लागि वर्तमान तथा भावी पुस्ताको चाहनाबमोजिम बैंकिङ सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको बताए । सोही कार्यक्रममा बैंकमा दुई दशक सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदकसहित सम्मान पनि गरिएको थियो ।