प्रतिनिधिसभा निर्वाचन नवलपुर : यस्ता छन् उम्मेदवारहरू

अधिकांश उम्मेदवार नयाँ अनुहार

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा अधिकांश उम्मेदवार नयाँ अनुहारका रहेका छन् । सधैँ पुरानो अनुहारले मौका पाउने नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समेत यसपालि नवलपुरमा दुवै क्षेत्रमा नयाँ उम्मेदवारलाई अगाडि सारेका छन् । ०७९ को प्रतिनिधिसभाको निर्वाचनमा दुवै क्षेत्र नेपाली कांग्रेसले जित हात पारेको नवलपुरमा प्रतिनिधिसभाको संसद् भवनमा छिर्नका लागि २६ वर्षका जेन–जीदेखि ७० कटेकासम्म चुनावी मैदानमा छन् । 

नवलपुरमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरे पनि कांग्रेसबाट दुईजनाको उम्मेदवारी परेको नवलपुर निर्वाचन क्षेत्र नं. १ मा एकजनाको उम्मेदवारी रद्ददेखि दुईजनाले उम्मेदवारी फिर्ता लिनेसम्मको काम भएको छ । त्यसैगरी शुक्रबार साँझ उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी उनीहरूलाई चुनाव चिह्नसमेत प्रदान गरिसकेको छ । 

नवलपुर क्षेत्र नं. १ मा तीनजना स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी कायम भएको छ भने नवलपुर क्षेत्र नं. २ मा पाँचजना स्वतन्त्रसहित १८ जना उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् ।  तीमध्ये यसअघि प्रतिनिधिसभा निर्वाचनमा प्रतिनिधित्व गरिसकेको नेकपा एमालेका तिलबहादुर महत क्षेत्री (तिलक) पुराना अनुहार हुन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम पुराना अनुहार हुन् । तर, गौतमले संसदमा प्रतिनिधित्व गर्ने मौका भने पाएका छैनन् । यी दुईजनाबाहेक चुनावी मैदानमा होमिएका बाँकी उम्मेदवार नयाँ अनुहार हुन् ।

एमालेका महत नवलपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । उनी ०७४ को निर्वाचनमा विजयी भए पनि ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका विष्णु कार्कीसँग पराजित भएका थिए । त्यसैगरी, रास्वपा नवलपुर १ बाट उम्मेदवार बनेका राजन गौतम यसअघि नवलपुर १ मै कांग्रेसका नेता डा. शशांक कोइरालासँग झिनो मतान्तरले पराजित भएका थिए । 

यसअघि दुईवटै निर्वाचन क्षेत्रमा जित हात पारेको नेपाली कांग्रेसले दुवैजना उम्मेदवारलाई टिकट नदिएर नयाँ अनुहारलाई अगाडि सारेको छ।  जसअन्तर्गत  नवलपुर निर्वाचन क्षेत्र नं. १ बाट बालकृष्ण घिमिरे र नवलपुर निर्वाचन क्षेत्र नं. २ बाट ओमबहादुर घर्तीलाई अगाडि सारेको छ । घिमिरे नेपाली कांग्रेस नवलपुरका उपाध्यक्ष हुन् । उनी लुम्बिनी आदर्श डिग्री कलेजमा शिक्षण पेसामा आबद्ध छन् भने उनी कानुन व्यवसायी पनि हुन् ।

नवलपुर २ बाट कांग्रेस अगाडि सारेको उम्मेदवार ओमबहादुर घर्ती कांग्रेसनिकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष हुन् । मगर समुदायको ठुला जनसंख्या रहेको नवलपुरमा कांग्रेसले यसपटक मगरलाई समेत उम्मेदवार बनाएर मगर समुदायको मन जित्ने प्रयास गरेको छ । कहिले जित त कहिले हार व्यहोर्दै आएको नेकपा एमालेले नवलपुरमा एकजना नयाँ अनुहारलाई अगाडि सारेको छ भने एकजना पुराना अनुहारलाई अगाडि सारेको छ । एमालेले नवलपुर क्षेत्र नम्बर १ बाट अगाडि सारेका उम्मेदवार भागीरथ सापकोटा एमालेनिकट उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष हुन् । उनी पहिलोपटक प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार बनेका हुन् । 

लोकप्रसाद भुर्तेल नेकपाबाट नवलपुर क्षेत्र नम्बर १ बाट र गणेशमान महतो नेकपा नवलपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । यी दुवैजना उम्मेदवार प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नयाँ अनुहार हुन् । गणेशमान महतो यस क्षेत्रका थारू आन्दोलन तथा जनजाति आन्दोलनका अगुवा मानिन्छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीले नवलपुर २ बाट जेन–जी युवा २६ वर्षीय मनीष खनाललाई अगाडि सारेको छ । उनले बालेननिकट रहेकै कारण टिकट पाएका हुन् । उनी विद्यालयमा शिक्षण पेसामा संलग्न थिए भने कानुन व्यवसायी पनि हुन् । 

राप्रपा नवलपुरले पनि यसपटक दुवै निर्वाचन क्षेत्रबाट नयाँ उम्मेदवारलाई अगाडि सारेको छ । अघिल्लोपटक निर्वाचनमा प्रत्यक्षतर्फ जित हात नपारे पनि समानुपातिकतर्फ राम्रो मत प्राप्त गरेको राप्रपाले नवलपुर १ बाट दीपकचन्द्र बस्ताकोटी र नवलपुर २ बाट रुनकुमारी महतोलाई अगाडि सारेको छ । यी दुवै नयाँ उम्मेदवार हुन् । 

ती बाहेक नवलपुरमा श्रम संस्कृति पार्टीले नवलपुर १ बाट भीमचन्द्र गुरुङ, नवलपुर २ बाट कमल चापागाईं, विप्लव नेतृत्वका नेकपा (माओवादी)ले नवलपुर १ बाट बेलबहादुर सारु, नवलपुर २ बाट गंगाप्रसाद ज्ञवाली (सुमन) लाई उम्मेदवार बनाएको छ । नेकपा (माओवादी) ले पहिलोपटक निर्वाचनमा भाग लिँदै छ । त्यसैगरी यहाँ राष्ट्रिय जनमोर्चाबाट नवलपुर १ मा चन्द्रदत्त सापकोटा, नवलपुर २ मा विष्णु गिरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट नवलपुर १ मा शत्रुघन थापा, नवलपुर २ मा खेमबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट नवलपुर १ मा मंगोल नेसनल अर्गनाइजेसनबाट राजु गुरुङ र नवलपुर २ मा निबबहादुर आलेलाई उम्मेदवार बनाएको छ । 

नवलपुर १ मा जनता समाजवादी पार्टीबाट छविलाल राना मगर, उज्यालो नेपाल पार्टीबाट पार्वती गुरुङ, नेसनल रिपब्लिक नेपाल नवलपुर १ मा विष्णुमाया विक र स्वतन्त्र उम्मेदवारको रूपमा अविनाश सुनार, गोकुल शर्मा र विन्दु केसी पनि चुनावी मैदानमा होमिएका छन् । त्यसैगरी नवलपुर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मानसिंह महतो,  आम जनता पार्टीबाट लक्ष्मी सोमै मगर, स्वतन्त्र उम्मेदवारको रूपमा गीताकुमारी लामिछाने, टोलबहादुर लुंगेली मगर, पेमबहादुर सिँजाली, भरतप्रसाद वस्ती, भीमाकुमारी भुसाल र सुशीला देवकाेटा पनि चुनावी मैदानमा होमिएका छन् । 

नवलपुरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच कडा टक्कर हुने आकलन  गरिएको छ भने राप्रपा, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी पनि ठुला दलहरूको जितका लागि बाधक बन्ने देखिन सक्ने आकलन गरिएको छ । 

सुझावित समाचार