भारतबाट बाबु आमा फर्केपछि मात्र पोष्टमार्टम गर्नेगरी आफन्तले अस्पताल प्रशासन र प्रहरीको जिम्मा लगाएर शवगृहमा राखिएको शव अदलबदल भएको पाइएको छ । सिरहाको गोलबजार नगरपालिका ३ जमदहकी करिब १६ वर्षीया निशा बानियाँको शव लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालबाट आइतबार पोष्टमार्टम गरी सप्तरीको खडक नगरपालिका १ सिसवा बेलही पुर्याएर दाहसंस्कार गरेको करिब २४ घण्टापछि खुलेको हो ।
अस्पताल प्रशासनका अनुसार सिसवा बेलहीकी करिब १७ वर्षीया राधिकाकुमारी साहको आफन्तले आइतबार निशाको शव राधिकाको भन्दै पोष्टमार्टम गराएर बुझेर लगेका थिए ।
अस्पतालमा कार्यरत प्रहरीका अनुसार गत शनिबार बानियाँको शव दिउँसो करिब ३ बजेतिर नातामा काका पर्ने तिलकबहादुर बानियाँसहित गाउँलेहरुले लहान अस्पताल प्रशासनलाई बुझाएपछि शव गृहमा राखेर फर्किएका थिए । ‘निशाकी बाबु पूर्णबहादुर र आमा जविना भारतको मुम्बई बस्ने भएकाले फर्किएपछि मात्र पोष्टमार्टम गरेर लैजाने गरी फर्कियौं’ काका तिलकबाहदुरले भने ‘उहाँहरु सोमबार बिहान गाउँ फर्किएपछि दिउँसो अस्पताल आउँदा शव नै भेटेनौं ।’ अस्पतल प्रशासन प्रमुख र ड्युटीमा रहेका कर्मचारीको मिलेमतोमा शव अदलबदल गरिएको हुन सक्ने आशंका गर्दै उनले अस्पताल प्रमुखसहित पोष्टमार्टम गर्ने चिकित्सक र प्रहरी कर्मचारीलाई पनि कानुनी कारबाही गरिनु पर्ने माग गरे ।
शव कोडिङ् गरेर नराखिनु लापरवाही
अस्पतालका निमित्त कार्यालय प्रमुख डा. रणजित कुमार झाले अस्पतालको शवगृहमा शव राख्नु अघि कोडिङ् राखिनु पर्ने नीतिगत व्यवस्था भएपनि कमजोरी भएको स्वीकारे । ‘सप्तरीबाट शव ल्याएका व्यक्तिले नै बुझेर पनि लगेका हुन्’ उनले भने । अस्पतालले पोष्टमार्टम मात्र गरिदिने तर बाँकी काम प्रहरीको भन्दै उनले त्यसदिन शवगृहमा राखिएको दुईवटा शवको कोडिङ्को विषयमा भने बोल्न चाहेनन् ।
निशाको परिवारले छोरीको मृत्युअघि १० वर्षीय भाईसहित लहान आएर एक रात बसेको र राती बसेको ठाउँका युवकले कुटपिट समेत गरेको दाबी गरेको छ । ‘त्यही रात यौन दुव्र्यवहार समेत भएको हुन सक्छ, त्यही कारणले सेटिङ्मा शव नै साटिएको आशंका छ, निष्पक्ष अनुसन्धान गरी कारबाही हुनुपर्छ’ मृतककी बाबु पूर्णबहादुरले भने । उनलाई कुटपिट गर्ने युवक को हुन् र कस्तो सम्बन्ध थियो भन्ने विषयमा भने केही खुलेको छैन ।
प्रहरी नियन्त्रणमा राधिकाका काका
शव अदलबदल भएको खुलेपछि इलाका प्रहरी कार्यालय लहानले सप्तरी प्रहरीसँग समन्वय गरी सोमबार अपरान्ह निशाको शव राधिकाको भन्दै बुझेर लिएर गएका नातामा काका पर्ने सतिव साहलाई सिसवा बेलहीबाट नियन्त्रणमा लिएर लहान ल्याएको छ । उनलाई लहान ल्याए लगत्तै शवगृहमा पुर्याएर पहिचान गर्न लागाउँदा भने शव राधिकाको रहेको स्वीकारेको प्रहरीले जनाएको छ । यो विषयमा के गर्ने भन्ने बारे कानुन व्यवसायीसँग पनि छलफल भइरहेकाले दुवै पक्षलाई राखेर कुराकानी गरिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
मृतकका आफन्त र स्थानीय बासिन्दाले सोमबार अपरान्हदेखि अस्पताल प्रमुख, पोष्टमार्टम गर्ने चिकित्सकलाई कानुनी कारबाहीसहित क्षतिपूर्तिको माग गर्दै पूर्व पश्चिम लोकमार्गको गोलबजार खण्डमा टायर बालेर यातायात अबरुद्ध गरेका छन् ।
जमदहस्थित सरस्वती मा.वि.मा कक्षा १० मा पढिरहेकी निशा सरस्वती पूजाको दिन शुक्रबार १० वर्षीय भाई निशान्तसहित विद्यालय आएकी थिइन् । विद्यालयको पूजामा सहभागी भइपछि भाईसहित लहान आएर एक रात बसेको र भोलिपल्ट बिहान करिब १० बजेतिर घर फर्किएको बताइएको छ । घर पुगेपछि भारतमा रहेका बाबुसँग भिडियोकलमा कुराकानीपछि भाइलाई मोवाइल थमाएर कपडा फेर्छु भन्दै कोठा छिरेकी निशा लगत्तै झुण्डिएको अवस्थमा भेटिएको स्थानीयले बताए ।