कृष्णनगर भन्सार कार्यालयद्वारा दुई उद्योग सम्मानित

सोमबार, १३ माघ, २०८२
डिजिटल संस्करण

७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षमा सबैभन्दा बढी भन्सार राजस्व बुझाउने दुई उद्योगलाई सम्मान गरेको छ।

बढी राजस्व बुझाएर राज्यको आम्दानी वृद्धिमा योगदान पुर्याएको भन्दै कपिलवस्तुको विजया स्टिल प्रालि र दाङको सम्राट सिमेन्ट प्रालिलाई प्रशंसा पत्रसहित सोमबार सम्मान गरिएको हो।

कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विजया स्टिल प्रालिले ५४ करोड ७७ लाख रुपैयाँ र सम्राट सिमेन्ट प्रालिले ४४ करोड ८६ लाख रुपैयाँ भन्सार राजस्व बुझाएको उल्लेख गर्दै दुवै उद्योगको योगदान प्रशंसनीय रहेको बताए। प्रजिअ गौतमले सबैले वैध तरिकाबाट मालसामान आयात गरी भन्सार तिरे राज्यको राजस्व बढ्नुका साथै व्यापारी र आमनागरिक सबैलाई फाइदा हुने बताए।
 
खुला सिमानाका कारण हुने तस्करीले राज्यको राजस्वमा गम्भीर असर पार्ने भन्दै उनले त्यसको नियन्त्रणका लागि सरकार, व्यापारी र नागरिक सबैको सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा भन्सारलाई सहयोग पुर्याउने भन्सार एजेन्ट, कर्मचारी तथा आधा दर्जनभन्दा बढी संघ–संस्थालाई पनि सम्मान गरिएको छ।

सो अवसरमा कृष्णनगर भन्सार प्रमुख फणीन्द्र खतिवडाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ५१ करोड ५९ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए। लक्ष्यको ८६ प्रतिशतभन्दा बढी राजस्व संकलन भइसकेको र बाँकी अवधिमा वार्षिक लक्ष्य पूरा हुने विश्वास व्यक्त गरका छन्।

सुझावित समाचार