संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता, २०८२ को प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न देशभरका ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई औपचारिक निर्देशन दिएको छ।
मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलद्वारा जारी परिपत्रमा निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता आ–आफ्नो कार्यक्षेत्रमा कडाइका साथ पालना गराउन सम्बन्धित निकायको दायित्व रहेको उल्लेख गरिएको छ। सोही परिपत्रमार्फत आवश्यक समन्वय र पत्राचार गरी आचारसंहिता कार्यान्वयन गराउन स्थानीय तह तथा जिल्ला समन्वय समितिलाई सचेत गराइएको छ।
सरकारले यसअघि ०८२ साल पुस १२ गते नेपाल राजपत्रमार्फत निर्वाचन आचारसंहिता सार्वजनिक गरेको थियो। निर्वाचन आयोगले अर्को व्यवस्था नभएसम्मका लागि उक्त आचारसंहिता निरन्तर लागू रहने स्पष्ट पारेको छ।
राष्ट्रिय सभा निर्वाचन (माघ ११ गते सम्पन्न) र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आचारसंहिता लागू गरिएको मन्त्रालयले जनाएको छ। निष्पक्ष, स्वतन्त्र र मर्यादित निर्वाचन वातावरण कायम राख्न सबै सम्बन्धित निकायको सक्रिय भूमिका आवश्यक रहेको मन्त्रालयको भनाइ छ।
निर्वाचन आचारसंहितामा परिच्छेद १०, अनुसूची ५ तथा दफा ५५ समेटिएको जानकारी मन्त्रालयले दिएको छ।
