विद्यालयको प्रांगणमा बसको ठक्करबाट बालिकाको मृत्यु

सोमबार, १२ माघ, २०८२
डिजिटल संस्करण

नवलपुरको एक विद्यालय प्रांगणमै बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । देवचुली नगरपालिका– १, केउरेनीस्थित नेपाल नमुना माध्यमिक विद्यालयको प्रांगणमा सोही विद्यालयको लु.१क ३८१४ नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत बालिकालाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट कक्षा नर्सरीमा अध्यनरत बारा जिल्लाको कलैया नगरपालिका– ६ घर भई हाल देवचुली नगरपालिका– १४, सातघरे बस्ने चार वर्षीया सुस्माकुमारी पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए ।

बस ब्याक गर्ने क्रममा ठक्कर दिँदा घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि देवचुली नगर अस्पताल दुम्कौली पठाइएकोमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको गुरुङले जानकारी दिए । बसका चालक देवचुली नगरपालिका– १, राममन्दिर बस्ने ५१ वर्षीय जगनाथ लम्साललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार