नेपाल–साउदी अरबबिच श्रम सम्झौतामा हस्ताक्षर

सोमबार, १३ माघ, २०८२
डिजिटल संस्करण

नेपाल र साउदी अरबबिच श्रम सम्झौतामा हस्ताक्षर भएको छ। नेपाल सरकार र साउदी अरब सरकारबिच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले जनवरी २५ मा साउदी अरबको राजधानी रियादमा हस्ताक्षर भएको छ। श्रमिक भर्नासम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संसाधन तथा सामाजिक विकासमन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेको नेपाली दूतावास रियादले जनाएको छ ।

द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षरअघि दुवै देशका श्रममन्त्रबिच द्विपक्षीय बैठक भएको थियो । मन्त्री भण्डारीले श्रम सम्झौताले नेपाल–साउदी अरबबिच श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरेको दूतावासले जनाएको छ। सम्झौता नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बनाउन एक महत्त्वपूर्ण दस्ताबेज हुनेमा आफू विश्वस्त रहेको भन्दै मन्त्री भण्डारीले यसबाट साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहितको रक्षा र रोजगारको सुरक्षा हुने उल्लेख गरेका छन् ।

सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयहरूलाई प्राथमिकताका साथ समेटिएको छ। सम्झौताले दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित गर्ने अपेक्षा गरिएको नेपाली दूतावास रियादले जनाएको छ। श्रम सम्झौताबाट साउदी अरबमा कार्यरत तथा भविष्यमा यहाँ आउने नेपाली श्रमिकहरूको सेवा सुविधामा सुरक्षा र स्थायित्व आउने विश्वास रहेको नेपाली राजदूतावास रियादले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सुझावित समाचार