नेकपा राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. बेदुराम भुसाल चयन भएका छन् । साबिक एकीकृत समाजवादी संसदीय दलका नेता भुसाल पार्टी समायोजनपछि संयोजक बनेका हुन् ।
आइतबार राष्ट्रिय सभा संसदीय दल समायोजन भएको हो । यसअघि साबिक माओवादीका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । बैठकबाट प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासे चयन भएका छन् । दलको बैठकमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने सम्भावना प्रबल रहेको बताएका छन् ।
उनले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेको र सबै पक्षलाई समेट्ने गरी प्रतिनिधिसभाका उम्मेदवार चयन गरिएको बताए । समानुपातिक उम्मेदवार छनोटमा विशेष ध्यान दिइएको उनले बताए । ‘जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएको छ । हाम्रा उम्मेवारले निर्वाचनमा नतिजा निकाल्नेछन्,’ उनले भने ।