चाँदी प्रशोधन र आपूर्तिमा सबैभन्दा धेरै हिस्सा ओगटेको चीनले निर्यातमा कडाइ गरेको छ
मूल्य अकासिन थालेपछि सुनको माग न्यून छ, जसकारण अहिले वाणिज्य बैंकमा सुनको मौज्दात बढेको छ, तर थप मूल्य बढ्ने विश्लेषणपछि चाँदीको कृत्रिम अभाव सुरु भएको छ । अहिले बजारमा चाँदी पाउन छाडेको छ । निकै ढिला गरी पाइहाले पनि निर्धारितभन्दा पाँच प्रतिशत बढी मूल्यमा खरिद गर्नुपरेको ग्राहकको गुनासो छ । सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यले मूल्य बढ्ने आशाले चाँदीको माग बढेको बताए । धेरै माग भएकाले समयमा चाँदी आपूर्ति हुन नसकेको उनको भनाइ छ ।
‘सुनसँगै चाँदीको मूल्य थप बढ्ने देखिएको छ । तर, सुनमा कर धेरै छ । त्यसमाथि मूल्य पनि अत्यधिक भइसक्यो । त्यसले गर्दा सुनको माग उच्च छैन । चाँदीको माग धेरै नै छ । तर, मागअनुसार चाँदी नहुँदा भनेकै समयमा आपूर्ति हुन सकेको छैन,’ उनले भने, ‘यद्यपि, व्यवसायीले चाँदी आपूर्ति बढाइरहेका छन् । ग्राहकले अर्डर गरेको केही दिनमा चाँदी पाउन सक्छन् । यो अभावमा ग्राहक र व्यवसायीको आपसी समझदारी भएर तोकिएको दरमा प्रिमियम शुल्क थप गरेर पनि कारोबार भएको हुन सक्छ ।’ नेपाल मात्रै नभएर भारत, चीनलगायतका मुलुकमा पनि प्रिमियम मूल्यमा चाँदीको कारोबार भइरहेको उनको दाबी छ । व्यवसायीले हङकङ र युएईबाट धेरै चाँदी आयात गर्छन् । तर, अहिले चाँदी पाउन कठिनाइ भइरहेको उनले बताए । ‘अहिले भनेको वेलामा चाँदी आयात गर्न पनि सकिँदैन,’ शाक्यले भने, ‘केही दिन प्रतीक्षा गर्नुपर्छ ।’
सामान्य अवस्थामा नेपालमा चाँदीको माग प्रतिदिन चार सय केजी हाराहारी हुने गरेको छ । अहिले प्रतिदिन एक हजार केजी माग हुने गरेपछि आपूर्ति गर्न कठिनाइ भइरहेको शाक्यले बताए । चालू आर्थिक वर्ष ०८२/८३ को ६ महिनामा १६ करोड ९४ लाख ९७ हजार रुपैयाँबराबरको १२ सय ७० केजी चाँदी आयात भएको भन्सार विभागले जनाएको छ ।
शाक्यले सुनको माग नै न्यून भएकाले कारोबार नै हुन छाडेको बताए । ‘सुनको मूल्य धेरैपछि उच्च विन्दुमा पुग्यो । त्यसमाथि विलासिताको कर तिर्नुपर्छ । त्यसले गर्दा सुनको माग त्यति छैन,’ उनले भने, ‘सुनको कारोबार शिथिल छ ।’बैंकर्स संघका अनुसार खपत घटेका कारण बैंकहरूमा डेढ सय किलोसम्म सुन मौज्दात रहेको छ । अहिले माग नै नभएकाले बैंकहरूले थप सुन खरिदको प्रक्रियासमेत थालेका छैनन् ।
विश्व बजारमा चाँदीको भाउ बढ्नुको कारण
गरगहनाभन्दा पनि औद्योगिक प्रयोजनमा चाँदीको प्रयोग बढ्न थालेको छ । सोलार प्यानल, विद्युतीय गाडी, एआई चिप्स, फाइभ–जी, डाटा सेन्टर, सेमिकन्डक्टरलगायतमा चाँदीको प्रयोग बढ्न थालेको छ । तर, चाँदीको उत्खनन तथा प्रशोधन मागअनुसार हुन सकेको छैन । विश्व बजारमा चाँदी प्रशोधन र आपूर्तिमा सबैभन्दा धेरै हिस्सा ओगटेको चीनले निर्यातमा कडाइ गरेको छ । विश्व बजारमा देखिएको भूराजनीतिक तनावले पनि ठुला लगानीकर्ताले चाँदीतर्फ लगानी बढाएका छन् । त्यसमाथि पनि लगानी प्रयोजनका लागि गरिने कारोबारमा अहिले खरिदकर्ताले भौतिक रूपमा चाँदी उपलब्ध गराउन भनेका छन् । पहिला यस्तो कारोबार कागजमा सीमित हुन्थ्यो । अहिले भौतिक रूपमै चाँदी खोज्न थालिएपछि विश्व बजारमा आपूर्ति प्रभावित भएको छ ।
माणिकरत्न शाक्य, निवर्तमान अध्यक्ष, सुनचाँदी व्यवसायी महासंघ
सुनसँगै चाँदीको मूल्य थप बढ्ने देखिएको छ । तर, सुनमा कर धेरै छ । त्यसमाथि मूल्य पनि अत्यधिक भइसक्यो । त्यसले गर्दा सुनको माग उच्च छैन । चाँदीको माग धेरै नै छ । तर, मागअनुसार चाँदी नहुँदा भनेकै समयमा आपूर्ति हुन सकेको छैन । यद्यपि, व्यवसायीले चाँदी आपूर्ति बढाइरहेका छन् । ग्राहकले अर्डर गरेको केही दिनमा चाँदी पाउन सक्छन् ।
सुनचाँदीको भाउमा निरन्तर वृद्धि
आइतबार प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको छ । चाँदीको मूल्य प्रतितोला ६ हजार चार सय ८० रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य दुई सय ९० रुपैयाँले बढेको हो । शुक्रबार चाँदीको मूल्य प्रतितोला ६ हजार एक सय ९० रुपैयाँ थियो । एक वर्षअघि चाँदीको मूल्य तोलामा दुई हजारभन्दा कम थियो । ११ माघ ०८१ मा चाँदीको मूल्य प्रतितोला १८ सय ८० रुपैयाँ थियो ।
सुनको भाउ बढ्नुको कारण
विश्वभर निक्षेपको ब्याजदर निरन्तर कटौती भएकाले लगानीकर्ता सुनमा लगानी गरिरहेका छन् । धेरै माग भएकाले मूल्य बढाएर आपूर्ति शृंखला सुचारु गर्न खोजिएको छ । भूराजनीतिक द्वन्द्वले विश्वको अर्थतन्त्र अस्थिर भइरहकाले सुरक्षित क्षेत्रको खोजीमा रहेका लगानीकर्ता सुनमा आकर्षित भएका छन् । सुनलाई सबैभन्दा सुरक्षित लगानीको क्षेत्र मानिन्छ ।