आइतबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उच्च अंकको वृद्धि भएको छ। नेप्से ५७.५५ अंक (२.१२ प्रतिशत) बढेर दुई हजार ७७२.१७ विन्दुमा कायम हुँदा कारोबार रकम १३ अर्बमाथि पुगेको छ।
आज ३३१ कम्पनीका तीन करोड नौ लाख १५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार रुपैयाँबराबरको सेयर कारोबार भयो। यसअघिको कारोबार दिनमा नौ अर्बभन्दा बढीको सेयर किनबेच भएको थियो।
यस दिन नेप्सेका १३ वटै समूहको सूचकमा समेत वृद्धि भएको छ। होटेल तथा पर्यटन सर्वाधिक ३.३५ प्रतिशतले उकालो लाग्दा हाइड्रोपावर, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन समूह दुई प्रतिशतभन्दा धेरैले बढेका छन्।
आज आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। एसवाई प्यानल, श्रीनगर एग्रिटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केबलकार, हिमस्टार ऊर्जा, माविलुङ इनर्जी, रिलायन्स फाइनान्स र आँखुखोला जलविद्युतको मूल्य १० प्रतिशतले बढेको हो।
सर्वाधिक गुमाउनेमा भने विकास बैंकका लगानीकर्ता छन्। एक्सेल डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकले क्रमशः ४.९४ र ३.९६ प्रतिशत गुमाए।