छैटौँ टाइगर कप भलिबल प्रतियोगिता–२०८२ मा एनसेल मुख्य प्रायोजक बनेको छ । शुक्रबारदेखि पोखरामा सुरु भएको टाइगर कपमा एनसेल मुख्य प्रायोजक बनेको हो । गत वर्ष पनि एनसेल यो प्रतियोगिताको मुख्य प्रायोजक रहेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गरेको यो प्रतियोगिता १७ माघसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।
‘टाइगर कपसँगको यो सहकार्यले खेलकुद र युवा सशक्तीकरणप्रति एनसेलको गहिरो प्रतिबद्धता झल्काउँछ । यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवर्द्धनमा अर्थपूर्ण योगदान पुर्याउनुका साथै राष्ट्रिय प्रतिभा विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछौँ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ताले भने ।
छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषतर्फ ६ टोली गरी कुल ११ टोलीले प्रतिस्पर्धा गर्दै छन् । महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यु डायमन्ड युथ स्पोर्टस् क्लब र थाइल्यान्ड क्विन्स गरी पाँच टोली सहभागी छन् ।
पुरुषतर्फ भने गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब, पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स रहेका छन् । यो प्रतियोगितामा विजेता हुने दुवै महिला र पुरुषतर्फका टोलीले आयोजकबाट समान प्रथम पुरस्कार ६ लाख ६६ हजार ६ सय ६६, दोस्रो पुरस्कार तीन लाख ६६ हजार ६ सय ६६ र तृतीय पुरस्कार दुई लाख ६ हजार ६ सय ६६ पाउनेछन् ।