ल्यान्डफिल साइटको विवादले १४ दिनदेखि उठेन पोखराको फोहोर

आइतबार, १२ माघ, २०८२
डिजिटल संस्करण
ल्यान्डफिल साइटको विवादले १४ दिनदेखि उठेन पोखराको फोहोर

फोहोर व्यवस्थापनका लागि शनिबार बसेको सर्वपक्षीय बैठक

ल्यान्डफिल साइटको विषयलाई लिएर भएको विवादका कारण पोखरामा १४ दिनदेखि फोहोर उठ्न सकेको छैन । यसअघि पोखराको फोहोरमैला व्यवस्थापनका लागि एसियाली विकास बैकको ऋण सहयोगमा ०६१ मा पोखरा महानगरपालिका– १८ बाच्छेबुडुवामा ल्यान्डफिल्ड साइट निर्माण गरी फोहोर व्यवस्थापन हुँदै आएका थियो ।

२५ वर्षका लागि पोखराको फोहोर फ्याँक्न सकिने गरी निर्माण गरिएको बाच्छेबुडुवास्थित ल्यान्डफिल साइट १७ पुस ०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बन्द भएको थियो । विमानस्थलका कारण सञ्चालनमा रहेको ल्यान्डफिल साइट बन्द भएपछि पोखराको फोहोर अस्थायी रूपमा ६ महिनाको समय तोकेर पोखरा–३२ स्थित लामेआहालमा व्यवस्थापन गरिएको थियो । ६ महिनाका लागि भनिएकोमा करिब साढे तीन वर्ष हुन लाग्दासमेत स्थायी साइट तयार हुन नसक्दा फोहोर विसर्जनलाई लिएर विवाद बढ्दै गएको हो । ६ महिनाका लागि भनिएको लामेआहालस्थित अस्थायी ल्यान्डफिल साइटसमेत भरिएको र त्यसको वैकल्पिक व्यवस्था हुन नसक्दा १४ दिनदेखि पोखराको फोहोर सडक र घरमै थुप्रिएको छ ।

पोखरामा हाल दैनिक एक सय ८० देखि दुई सय टन फोहोरमैला संकलन हुने गरेको महानगर ल्यान्डफिल साइट इन्चार्ज हर्क गायकले जानकारी दिए । उनका अनुसार फोहोर फाल्दै आएको लामेआहालस्थित अस्थायी साइट भरिएकाले फोहोर व्यवस्थापनमा समस्या भएको छ । लामेआहालस्थित खोलाले कटान गरेको खाल्डोमा लगी अस्थायी रूपमा फोहोर फाल्दै आइएकोमा त्यो भरिएको र अर्को स्थानको टुंगो नलाग्दा समस्या भएको उनको भनाइ छ । 

लामेआहालमा समेत गरेको सम्झौताअनुसार महानगरले काम नगरेको भन्दै स्थानीयले पटक–पटक फोहोर लैजान अवरोध गर्दै आएका थिए । दुई सातादेखि फोहोर नउठदा पोखराका मुख्य र भित्री सडकको चोक, सडकछेउमा फोहोरको थुप्रो देखिन थालेका छन् । लामेआहालमा अस्थायी रूपमा फोहोर फ्याँक्दै आएको महानगरले पोखरा–३३ स्थित झाँक्रीखोलामा ल्यान्डफिलसहितको आधुनिक फोहोर प्रशोधन केन्द्र निर्माणको योजना अघि सारे पनि स्थानीयको विरोधपछि अघि बढ्नसकेको छैन । झाँक्रीखोलाको योजना दुई वर्षअघि सुरु गरिएको थियो । 

दुई सातादेखि फोहोर उठ्न नसकेपछि नगरप्रमुख धनराज आचार्यको आह्वानमा शनिबार सर्वपक्षीय बैठक बस्यो । बैठकमा दलका जिल्ला र नगरस्तरीय समितिका प्रमुख तथा प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो । लामो समयदेखि फोहोर नउठ्दा नगरवासीको जनस्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने भएपछि समाधानका लागि आचार्यले बैठक बोलाएका हुन् । 

सुझावित समाचार