पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पब्लिक डिबेटका लागि आफू तयार भएकाे बताएका छन् । भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चुनावमा होमिएका नेताबिच पब्लिक डिबेट हुनुपर्ने माग भइरहेको समयमा ओलीले यसका लागि आफू तयार भएको बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘नयाँ र पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबिच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउनेतर्फबाट मैदानमा छ। यसवेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबिच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ। फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुन सक्छ।’
उनले अगाडि भने, ‘यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरू पनि प्रधानमन्त्रीको उम्मेदवारसमेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने–सामने बहसको माग अत्यन्त सकारात्मक छ।’
‘यस्तो पब्लिक डिबेटमा आमने–सामने उभिएर यसअघि हामीले के–के गर्यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौँ भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु,’ ओलीले भने, ‘चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेन्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।’
एमालेबाट केपी ओली, नेपाली कांग्रेसबाट पार्टी सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भावी प्रधानमन्त्रीको रूपमा चुनावी मैदानमा छन् । पब्लिक डिबेटका लागि ओलीको प्रतिबद्धता आए पनि गगन र बालेन यसबारेमा अहिलेसम्म केही बोलेका छैनन्, माैन छन् ।