ताप्लेजुङको सिरिजंघाबाट पाँच उम्मेवार चुनावी प्रतिस्पर्धा रोचक

शनिबार, १० माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङमा एउटै गाउँपालिकाबाट उम्मेदवारहरूको उल्लेख्य भिड देखिएको छ । जिल्लामा मनोनयन दर्ता गराएका १३ उम्मेदवारमध्ये पाँच जना एउटै स्थानीय तह सिरिजङ्घा गाउँपालिकाका रहेपछि निर्वाचन रोचक हुने देखिएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्ता गराउने पाँच जना उम्मेदवार सिरिजङ्घा गाउँपालिकाबाटै रहेका छन् । नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बू, नेकपा (एमाले) का क्षितिज थेबे, नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्री (पराग), राष्ट्रिय स्वतन्त्र पार्टीका इन्जिनियर वीरेन्द्र श्रेष्ठ र श्रम संस्कृति पार्टीका सन्तोष राई एउटै पालिकाका उम्मेदवार रहेका छन् ।

कांग्रेसका उम्मेदवार तुम्याहाङ सिरिजङ्घा गाउँपालिका–७ खेवाङका हुन् । एमालेका थेबे र रास्वपाका श्रेष्ठ वडा नं. १ सिनामका रहेका छन् । नेकपाका बुडाक्षेत्री वडा नं. ५ पेदाङ र श्रम संस्कृति पार्टीका उम्मेदवार राई वडा नं. ८ याम्फुदिनका रहेकाछन् ।  यसैगरी, जनता समाजवादी पार्टी नेपालका सूर्य गुरुङ, जनता समाजवादी पार्टीका अरुण सुब्बा लेछर्बो, उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेन र मङ्गोल नेसनल अर्गनाइजेसन नेपालका सन्तबहादुर लिम्बू फुङलिङ नगरपालिकाबाट उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापा र नेपाल जनमुक्ति पार्टीका इन्द्र थलङ लिम्बू मिक्वाखोला गाउँपालिकाका हुनुहुन्छ ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लाबुङ लिम्बू र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नरपति पौडेल फक्ताङ्लुङ गाउँपालिकाबाट उम्मेदवार बनेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनोनयन दर्ता गराएका १३ जनाकै उम्मेदवारी कायम रहेको छ । बुधबार तोकिएको दाबी–विरोध तथा उजुरीको समयावधिमा कसैबाट पनि उजुरी नपरेपछि सबै उम्मेदवारको उम्मेदवारी सदर भएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए । 

सुझावित समाचार