चुनाव नजिकिएसँगै सेयर बजारमा उत्साह

शनिबार, ११ माघ, २०८२
डिजिटल संस्करण
  • निर्वाचनपछि राजनीतिक र आर्थिक स्थायित्व हुने अपेक्षाले सेयर बजारमा छाउँदै हरियाली, साताभरमा ७३.१८ अंकले उक्लियो नेप्से
  • एक सय ५८ दिनपछि गत मंगलबार सेयर कारोबार रकम १० अर्ब नाघेको थियो । मंगलबार ११ अर्ब ७३ करोड ७९ लाख रुपैयाँको कारोबार भएको हो 

२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै सेयर बजारमा लगानीकर्ताको उत्साह बढेको छ । यो साता निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक नेप्से बुधबार एक दिन सामान्य अंकले घटेर अन्तिम दिन बिहीबार बढेको छ ।

आइतबार नेप्से ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुगेको थियो भने मंगलबार थप ४२.२६ अंकले उकालो लाग्दै २७१४.८१ विन्दुमा पुगेको थियो । मंगलबार देशभर उम्मेदवारी मनोनयन दर्ता हुँदै गर्दा बजारमा लगानीकर्ताको सक्रियता झनै बढेको थियो । बुधबार नाफा बुक गर्ने क्रममा केही घटे पनि बिहीबार अन्तिम दिन सामान्य बढेर २७१४.६१ विन्दुमा बजार बन्द भएको छ । 

एक सय ५८ दिनपछि गत मंगलबार सेयर कारोबार रकम १० अर्ब नाघेको थियो । मंगलबार ११ अर्ब ७३ करोड ७९ लाख रुपैयाँको कारोबार भएको हो । उक्त दिन कुल दुई करोड ५१ लाख ८५ हजार ६ सय ४७ कित्ता सेयर किनबेच भएको थियो । यसअघि २६ साउनमा १० अर्ब एक करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता कारोबार १० अर्ब नाघेको थिएन । आइतबार भने कारोबार रकम आठ अर्ब ३५ करोड रुपैयाँमा सीमित थियो ।

राजनीतिक अन्योलताका कारण ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्तामा २१ फागुनका लागि तय भएको निर्वाचनले सकारात्मक मनोविज्ञानको काम गरेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालको भनाइ छ ।

उनले भने, ‘२१ फागुनमा निर्वाचन हुने तय भएपछि सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको छ । नयाँ र बलियो सरकार बन्ने अपेक्षाले बजारमा चहलपहल बढेको हो । पहिले लगानीकर्तामा अन्योल थियो, त्यसैले कारोबार सुस्त थियो । अब भने कारोबार बिस्तारै बढ्दै गएको देखिन्छ ।’

सुझावित समाचार