टाइगर कप भलिबल : पुरुषतर्फ एपिएफ र आर्मी तथा महिलातर्फ डायमन्डको विजयी सुरुवात

शुक्रबार, ९ माघ, २०८२
डिजिटल संस्करण

पुरुषतर्फ विभागीय सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ टिप–टप न्यु डायमन्ड स्पोर्टस् क्लबले छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा सुखद सुरुवात गरेका छन्।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना एवं एनसेलको मुख्य प्रायोजनमा शुक्रबारदेखि पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा एपिएफले घरेलु टोली गण्डकी प्रदेश भलिबल संघलाई ३–१ सेटमा पराजित गरेको हो। खेलको पहिलो सेट २६–२४ र दोस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको एपिएफ तेस्रो सेटमा भने १९–२५ ले पछि परेको थियो। त्यसपछिको चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै एपिएफले जित हात पारेको हो।

पुरुषतर्फको अर्को खेलमा आर्मीले पाहुना टोली माल्दिभ्स भलिबल एसाेसिएसनलाई ३–० को सोझो सेटमा पाखा लगायो। पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० अंकसहित खेल आर्मीले आफ्नो पक्षमा पारेको हो।

महिलातर्फको खेलमा डायमन्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्याे। डायमन्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा विजयी सुरुवात गर्याे।

प्रतियोगिताअन्तर्गत शनिबार विभिन्न चार खेलहरू हुने प्रतियोगिता आयोजक समितिका सहसंयोजक एवं प्रचारप्रसार उपसमितिका संयोजक डोलराज पोखरेलले जानकारी दिए। महिलातर्फ पहिलो खेलमा पुलिस र आर्मी, दोस्रो खेलमा एपिएफ र थाइल्यान्डको टोली भिड्दा पुरुषतर्फ पहिलो खेल गण्डकी र माल्दिभ्स तथा दोस्रो खेल पुलिस र पर्वतबिच हुनेछ।

सुझावित समाचार