प्रतिनिधिसभा निर्वाचनमा एउटै वडाका ६ जना उम्मेदवार

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण

आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा एउटै वडाका ६ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । बागलुङ नगरपालिका– १२ अमलाचौरमा स्थायी ठेगाना भई विभिन्न दलमा सक्रिय ६ जना व्यक्ति उम्मेदवार बनेका छन् । जसमध्ये पाँच प्रत्यक्ष र एकजना समानुपातिक छन् । पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल हाल नवलपरासी पश्चिम २ मा नेकपाबाट प्रत्यक्षतर्फका उम्मेदवार छन् ।

०७४ र ०७९ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ २ बाट निर्वाचित पौडेल यसपटक नवलपरासी पश्चिम पुगेका हुन् । पौडेल कांग्रेसका भरत थापा, एमालेका लेखनाथ खरेल र नरेन्द्र गुप्तासँग चुनावी प्रतिस्पर्धामा छन् । पौडेलकै धर्मपत्नी बलावती शर्मा नेकपाको समानुपातिक उम्मेदवार हुन् । उनी समानुपातिक बन्दसूचीको खस–आर्यतर्फ पहिलो नम्बरमा छिन् । 

काठमाडौं ५ बाट नेकपाको उम्मेदवार बनेकी कल्पना शर्मा बागलुङ नगरपालिका– १२ मै  जन्मिएकी हुन् । उनी हाल काठमाडौंमा बसोबास गर्छिन् । उनी नेकपाका नेता एवं पूर्वशिक्षामन्त्री दीनानाथ शर्माकी छोरी हुन् । उनी काठमाडौं ५ मा कांग्रेस महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल र रास्वपाका सस्मित पोखरेलसँग चुनावी प्रतिस्पर्धामा छिन् । 

अमलाचौरकै कृष्णप्रसाद शर्मा अधिकारी र चित्रप्रसाद सापकोटा बागलुङ १ मा प्रत्यक्षतर्फबाट उम्मेदवार बनेका छन् । अधिकारी रााष्ट्रिय जनमोर्चा र सापकोटा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका हुन् । अधिकारी र सापकोटाको प्रतिस्पर्धीका रूपमा कांग्रेसका भीमबहादुर श्रीस राना, एमालेका हिराबहादुर केसी र रास्वपाका सुशील खड्का छन् । 

बागलुङ २ मा रास्वपाबाट प्रत्यक्षतर्फका उम्मेदवार सोम शर्मा पनि बागलुङ नगरपालिका– १२ मै जन्मिएका हुन् । उनी  हाल बागलुङ नगरपालिका– ३ मा बस्छन् । शर्मासँग कांग्रेसका टेकराज पौडेल, एमालेका मञ्जु शर्मा चालिसे र नेकपाका अनिल गैरे चुनावी प्रतिस्पर्धामा छन् । यसअघिका निर्वाचनमा पनि यसै वडाबाट तत्कालीन माओवादीबाट देवेन्द्र पौडेल, एमालेबाट सूर्य पाठक प्रतिनिधिसभाको उम्मेदवार थिए । पौडेलले बागलुङ २ मा निर्वाचन जितेका थिए । पाठक भने राजमोका चित्रबहादुर केसीसँग पराजित भए । 

यसै वडाका प्रदेश सभा सदस्य कृष्णप्रसाद पाठक हाल गण्डकीका स्वास्थ्यमन्त्री छन् । यस वडाबाट प्रतिनिधित्व गर्दै बारम्बार सांसद र मन्त्री बने पनि जनताले सोचेअनुरूप वडाको विकास हुन नसकेको वडावासीको गुनासो छ । यसपटक नेकपाबाट समानुपातिक सूचीमा रहेकी बलावती शर्मा सांसद बन्ने झन्डै पक्कापक्की भएको छ भने पौडेल र अन्य उम्मेदवारले निर्वाचन जित्नुपर्नेछ । 

सुझावित समाचार