खाँदबारी नगरपालिकाभित्र साढे ११ किलोमिटर ‘फुट ट्रेल’ बन्ने भएको छ । खाँदबारी नगरपालिका– ४ को छयाङ्कुटीदेखि खाँदबारी– १० र ११ को सिमाना बतासेडाँडासम्म साढे ११ किमि पदमार्गको बुधबार शिलान्यास गरिएको छ । पदमार्गको शिलान्यास नगरपालिकाका मेयर महेश थपलियाले गरेका हुन् । कार्यक्रमका चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा, खाँदबारी– ४ का कार्यवाहक वडाध्यक्ष पवित्रा गुरुङ, खाँदबारी– १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ, दातृसंस्था परियोजनाका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारी र स्थानीयको उपस्थिति थियो ।
मेयर थपलियाले खाँदबारीवरिपरि ‘फुट ट्रेल’ बनाउन सके आन्तरिक तथा बाह्य पर्यटक भित्रिने र नगरको सौन्दर्य बढ्ने बताए । ‘फुट ट्रेल’ खाँदबारी नगरपालिकाको वरिपरिका साथै चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिकाको बाह्रबिसे बजार जोड्ने लक्ष्य रहेको उनले बताए । ‘हामी आमनगरवासीको भावनालाई कदर गर्दै समृद्धि र विकासप्रति समर्पित भएर लागेका छौँ । जतिसक्दो चाँडो काम सम्पन्न गर्नुपर्छ, यसका लागि नगरले बजेट विनियोजन गर्नेछ,’ मेयर थपलियाले भने ।
खाँदबारी नगरपालिका, कोशी प्रदेश सरकार, संघीय सरकार र स्विस सरकारको संयुक्त साझेदारी कार्यक्रमअन्तर्गत ‘फुट ट्रेल’को निर्माण अघि बढेको हो । स्विस सरकारको ५१ प्रतिशत र स्थानीय, प्रदेश र संघ सरकारको ४९ प्रतिशत लगानीमा ‘फुट ट्रेल’को योजना अगाडि बढेको हो । उक्त लालीगुराँस पदमार्ग निर्माण गर्न कमलमणि कटुवाल अध्यक्ष रहेको उपभोक्ता समितिलाई जिम्मेवारी दिइएको छ । १५ असार ०८३ भित्र काम सक्ने गरी सम्झौता भएको छ । पदमार्ग निर्माणको कुल बजेट ९३ लाख ९३ हजार ३४७ रुपैयाँ रहेको खाँदबारी नगरपालिकाका सबइन्जिजियर रुद्र घिमिरेले बताए ।
स्विस सरकारको पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) कार्यक्रमअन्तर्गत काम भएको छ । पदमार्ग निर्माणमा खाँदबारी नगरपालिकाका प्राविधिक र परियोजना (टिटिडिपी)का प्राविधिकले अनुगमन र नापजाँचलगायत हेर्नेछन् ।
जोडिनेछन् पाँच वडा
पदमार्गले खाँदबारी नगरपालिकाको वडा नम्बर ९ को तुम्लिङटार, वडा नम्बर ६ को पाँठा—थालडाँडा, वडा नम्बर ४ को छयाङ्कुटी डाँडा—हरेलोडाँडा, वडा नम्बर १० र ११ को सिमाना बतासेडाँडा हँुदै वडा नम्बर– २ को चेवाबेँसी—रोय जोड्नेछ । ‘नगरपालिकाभित्रका सबै वडालाई जोड्ने गरी ‘फुट ट्रेल’को विकास गर्न अघि बढेको हो । नगरभित्रको सबै गाउँठाउँको वस्तुस्थिति अवलोकन, अध्ययन भ्रमण र आन्तरिक तथा बाह्य पर्यटनमा ‘फुट ट्रेल’ले सघाउ पु¥याउने अपेक्षा गरिएको छ,’ मेयर थपलियाले भने ।