बुटवल–पोखरा सडक स्तरोन्नति अघि बढ्दै

आयोजना स्तरोन्नतिका लागि एआइआइबीको २९ करोड अनुदान सहयोग स्वीकार गर्ने निर्णय, डेडिकेटेड दुई लेनमा विस्तार हुने, आयोजनाको लागत अनुमान २० अर्ब

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण

सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा सडकखण्ड स्तरोन्नतिको प्रक्रिया अघि बढाउने भएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अघि बढाउने तयारी थालिएको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सिद्धार्थ राजमार्गलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने कार्य प्रारम्भ गर्ने घोषणा गरेको थियो । अब आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको प्रक्रिया अघि बढाइएको सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालले बताए । 

मन्त्रिपरिषद्को बिहीबारको बैठकले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा सडकखण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले नेपाललाई दिने करिब २९ करोड रुपैयाँ अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । बुटवल–पोखरा सडकखण्ड विस्तारको डिपिआर तयार गर्न यो रकम खर्च गरिने उनले बताए ।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बुटवल–पोखरा सडकखण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलरबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताए । बिहीबारको विनिमय दरअनुसार उक्त सहयोग रकम २९ करोड २८ लाख रुपैयाँबराबर हुन आउँछ । 

सरकारले पश्चिम नेपालको पहाड र तराई क्षेत्र जोड्ने सिद्धार्थ राजमार्ग निर्माण भएको ५४ वर्षपछि स्तरोन्नतिको तयारी थालेको छ । अहिले एक सय ५८ किमि लामो बुटवल–पोखरा खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गर्न लागिएको हो । एआइआइबीको अनुदान सहयोग आयोजना सुधारको तयारीमा खर्च गरिनेछ ।आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन अन्तिम चरणमा रहेको छ । आयोजनाको कुल लागत पौने २० अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यसमा सडक स्तरोन्नतिमा मात्रै १० अर्ब ३८ करोड ७० लाख लाग्ने रुपैयाँ अनुमान गरिएको छ । यसैगरी, प्रस्तावित सुरुङ र भायाडक्ट बनाउन नौ अर्ब ३७ करोड २० लाख लागत अनुमान गरिएको छ । 
 

सुझावित समाचार