पुस महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह एक खर्ब पाँच अर्ब रुपैयाँले बढेको देखिएको छ । विगत लामो समयदेखि कर्जा प्रवाह सुस्त रहेकोमा पुसमा भने कर्जा प्रवाह उच्च देखिएको नेपाल बैंकर्स संघबाट प्राप्त प्रारम्भिक तथ्यांकले देखाएको छ । मंसिर मसान्तसम्म २० वाणिज्य बैंकको कुल कर्जा प्रवाह ५० खर्ब ५२ अर्ब पुगेको थियो । पुस मसान्तसम्म आउँदा त्यो बढेर ५१ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । पुसमा असुली भएको कर्जा हटाउँदा नयाँ कर्जाको परिमाण अझ धेरै हुन सक्छ । तर, त्यस्तो तथ्यांक गणना गरेको देखिन्न ।
संघको तथ्यांकअनुसार १ देखि ४ पुससम्मको अवधिमा ८२ करोड कर्जा प्रवाह भएको थियो । त्यसपछि पुस ५–११ मा ११ अर्ब ५८ करोड रुपैयाँ, पुस १२–१८ मा १२ अर्ब २० करोड रुपैयाँ, पुस १९–२५ मा २६ अर्ब ७० करोेड रुपैयाँ र पुस २६–३० मा ५३ अर्ब ५१ करोड रुपैयाँले कर्जा प्रवाह बढेको छ । पुस मसान्तको समयमा उच्च कर्जा प्रवाह हुँदा ‘एभरग्रिनिङ’ अर्थात् कर्जा तिर्न कर्जा प्रवाह गरेको हुन सक्ने पनि देखिएको छ । पुस मसान्तमा बैंकहरूले कर्जा असुलीलाई उच्च प्राथमिकता दिने गर्छन् । एक बैंकरले पुसको अन्तिम समयमा ‘एभरग्रिनिङ’ भएको हुन सक्ने बताए ।
नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी निर्देशक अनिल शर्माले पुसमा कर्जाको माग पनि बढेको बताए । ‘पुसमा यसै पनि कर्जाको माग उच्च हुने गर्छ । यद्यपि, यसपालि कर्जाको माग पनि बढेको देखियो,’ उनले भने, ‘विगतका महिनामा कर्जाको माग न्यून थियो । सेयर धितो कर्जाको माग धेरै थियो । पुसमा उपभोग, घरजग्गा खरिद, सवारीसाधन खरिदमा पनि कर्जाको माग बढेको छ । सेयर कर्जाको माग पनि नियमित नै देखिन्छ ।’ तथ्यांकअनुसार पनि पुसको समयमा सामान्यतः कर्जा प्रवाह उच्च देखिन्छ । पुस ०८१ मा पनि वाणिज्य बैंकहरूको कर्जा प्रवाह ९४ अर्ब रुपैयाँले बढेको थियो, जुन मासिक रूपमा आव ०८१÷८२ कै उच्च थियो । त्यसअघि पुस ०८० मा भने ३७ अर्बले मात्रै कर्जा प्रवाह बढेको थियो । आव ०८०÷८१ मा भने असारमा सबैभन्दा धेरै ४७ अर्बले कर्जा प्रवाह बढेको थियो ।
६ महिनामा १.८२ खर्बको मात्रै वृद्धि
पछिल्लो समय कर्जा प्रवाह सुस्त छ । चालू आवको ६ महिनामा कर्जा प्रवाह एक खर्ब ८२ अर्ब मात्रै बढेको छ । त्यसमा पुसमा मात्रै एक खर्ब पाँच अर्बले कर्जा प्रवाह बढेको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४९ खर्ब ७५ अर्ब रुपैयाँ थियो । साउनमा त्यो ११ अर्ब रुपैयाँले घटेको थियो । त्यसपछि भदौमा ४३ अर्ब ४१ करोड रुपैयाँ र असोजमा ४१ अर्ब रुपैयाँले बढेको कर्जा प्रवाह कात्तिकमा भने २२ अर्ब रुपैयाँले घटेको थियो । त्यसपछि मंसिरमा २७ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको देखिन्छ । गत पुसमा भने एकैपटक एक खर्ब पाँच अर्बले कर्जा प्रवाह बढेको तथ्यांकमा उल्लेख छ । पुस मसान्तभित्र विभिन्न कम्पनीहरूले आयकर कर तिर्नुपर्छ । त्यसका लागि पनि कर्जाको माग बढी हुने गर्छ । कतिपय व्यवसायीहरूले ओभर ड्राफ्ट कर्जामा बाँकी भएको रकम यो वेला प्रयोग गर्ने गर्छन् । कतिपय बैंक र ऋणहरूको आपसी समझदारीमा पनि ‘एभरग्रिनिङ’ गरिएको छ ।
कर्जा विस्तार सिजनेबल
कतिपय बैंकहरूले यो कर्जाको माग दिगो नभएको बताउँछन् । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले पुसको कर्जा प्रवाह ‘सिजनेबल’ भएको बताए । ‘पुसमा भएको कर्जा प्रवाह सिजनेबल हो, दिगो होइन । माघ लागेपछि कर्जा प्रवाह घट्न सुरु भइसकेको छ,’ उनले भने, ‘बैंकहरू कर्जा प्रवाहका लागि चुनावसम्म पर्ख र हेरको अवस्था पनि हो । चुनावपछि पक्कै पनि राम्रो वातावरण बन्छ भन्नेमा हामी आशावादी छौँ । त्यसपछि कर्जाको माग पनि बढ्ने आशा छ । राम्रो वातावरण भएको अवस्थामा बैंकहरू आफैँ पनि कर्जा बढाउन अग्रसर हुन सक्नेछन् ।’
निक्षेपमा एक खर्ब ३० अर्बको वृद्धि
पुसमा वाणिज्य बैंकहरूमा निक्षेप पनि एक खर्ब ३० अर्ब रुपैयाँले बढेको छ । मंसिरसम्म वाणिज्य बैंकमा भएको निक्षेप ६८ खर्ब १४ अर्ब रुपैयाँ थियो । पुस मसान्तसम्म आउँदा त्यो बढेर ६९ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । बढ्दो रेमिट्यान्सले निक्षेप बढेको सिइओ खालिङले बताए । चालू आवको ६ महिनामा निक्षेप चार खर्ब १३ अर्ब रुपैयाँले बढेको छ । गत असारसम्म २० वाणिज्य बैंकमा ६५ खर्ब ३१ अर्ब निक्षेप थियो । त्यसमा साउनमा ५२ अर्बले निक्षेप घटेको थियो । त्यसपछि भदौमा ९४ अर्ब र असोजमा एक खर्ब ७९ अर्ब रुपैयाँले निक्षेप बढेको थियो । त्यसपछि कात्तिकमा तीन अर्ब र मंसिरमा ६० अर्ब रुपैयाँले निक्षेप बढेको थियो । त्यसपछि मंसिरमा निक्षेप एक खर्ब ३० अर्ब रुपैयाँले बढेको हो ।
ऋणयोग्य पुँजी ११ खर्बभन्दा बढी
पुस मसाान्तसम्म बैंकहरूमा ऋण प्रवाह गर्न मिल्ने रकम भने ११ खर्ब ३३ अर्ब रुपैयाँ छ । पुस मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात ७३.६८ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म पुग्ने गरी कर्जा प्रवाह गर्न पाइन्छ । त्यो अवस्थामा अझै निक्षेपको १६.३२ प्रतिशत कर्जा प्रवाह गर्न पाइने देखिन्छ । त्योअनुसार अझै ११ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ ऋण दिन मिल्ने पैसा छ ।