किन भयो रेशमको उम्मेदवारी खारेज ?

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टी नेपालबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ । क्षेत्र नम्बर १ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।मुख्य निर्वाचन अधिकृत देवराज भारतीका अनुसार उम्मेदवारी खारेज गर्दा तीनवटा कारणलाई आधार बनाइएको छ । पहिलो सर्वोच्च अदालतले रेशमविरुद्ध जन्मकैदको सजाय अन्तिम किनारा लगाउनु । थरुहट आन्दोलनका क्रममा ७ भदौ ०७२ मा टीकापुरमा भएको घटनामा आठ प्रहरीसहित नौजनाको ज्यान गएको थियो । घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाकाचोरी मुद्दामा सर्वोच्चले रेशमलाई जन्मकैदको सजाय सदर गरेको थियो । 

पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरी राष्ट्रपतिबाट माफी पाएर १५ जेठ ०८० मा कारागारमुक्त भएका थिए । राष्ट्रपतिबाट माफी पाएर रिहा भए पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा (१०) अनुसार उनीविरुद्धको फैसला भने बदर नहुनुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेजीको अर्को आधारका रूपमा उल्लेख गरेको छ ।

यही फैसलाका कारण रेशमलाई राजनीतिक दलको सदस्य बन्न नपाउने भनेर निर्वाचन आयोगले विगतमा गरेको निर्णय उम्मेदवारी खारेजीको अर्को आधार रहेको मुख्य निर्वाचन अधिकृत भारतीले बताए । रेशम जेलमै रहेका वेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गराएका थिए । जेलमुक्त भएलगत्तै नागरिक उन्मुक्तिको महाधिवेशन गराएर उनी आफैँ अध्यक्ष बने । तर, आयोगले रेशम नेतृत्वको कार्यसमितिलाई मान्यता दिएन । आयोगले २४ फागुन ०८० मा रेशम राजनीतिक दलको सदस्य बन्न अयोग्य हुने निर्णय गरेको देखिएको मुख्य निर्वाचन अधिकृत भारतीले जानकारी दिए ।

प्रचलित ऐन–कानुनअनुसार रेशमको उम्मेदवारी खारेजीको निर्णयमा आयोग पुगेको उल्लेख गर्दै उनले यो निर्णय गर्दा निर्वाचन आयोगसँग समेत परामर्श गरिएको बताए । क्षेत्र नम्बर १ बाटै स्वतन्त्र उम्मेदवारी दिएका सत्यनारायण भट्टराईले रेशमको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

प्रतिकूल निर्णय आउन सक्ने आकलनसहित स्वतन्त्र उम्मेदवार 
रेशमको उम्मेदवारीलाई लिएर निर्वाचन आयोगबाट प्रतिकूल निर्णय आउन सक्ने आकलन गरेर नागरिक उन्मुक्ति पार्टी नेपालले यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारसमेत उठाएको छ । फागुराम थारूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । रेशमको उम्मेदवारी खारेज भएकाले अब आफ्नो पार्टीले थारूलाई समर्थन गरेर चुनावमा जाने नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष कवीन्द्र सोपले बताए । ‘अब हामी उहाँलाई समर्थन गरेर जान्छौँ,’ सोपले भने, ‘उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय विभेदकारी भए पनि निर्णय मानेर जानुको विकल्प छैन ।’ आयोगको निर्णयपछि रेशमले उम्मेदवारी खारेजीविरुद्ध देशैभरि पार्टीको चुनाव चिह्न जाँतोमा मतदान गरेर साथ दिन आग्रह गरेका छन् । 

०७९ को चुनावमा पनि बर्दिया २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका रेशमको उम्मेदवारी खारेज भएको थियो । त्यसवेला पनि उनले आफ्ना बुवा लालवीरलाई त्यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए । तत्कालीन नागरिक उन्मुक्ति पार्टीको समर्थनमा लालवीर विजयी पनि भएका थिए । 

सुझावित समाचार