एकपटक एक व्यक्ति एक सन्तको आश्रममा पुगे । सन्तको पाउमा परेर उनले भने– गुरुदेव, मलाई जीवनको पूर्ण सत्यको ज्ञान पनि छ । मैले शास्त्रको ध्यानपूर्वक अध्ययन पनि गरेको छु । तैपनि, मेरो मन कुनै पनि काममा लाग्दैन । जब म कुनै काम गर्न लाग्छु, तब मेरो मन भड्किन थाल्छ र त्यो काम छाडिदिन्छु । यस्तो अस्थिरताको कारण के हो ? कृपया मेरो यस समस्याको समाधान गरिदिनुपर्यो हजुरले ।
सन्तले उनलाई रातिसम्म प्रतीक्षा गर्न भने । राति भएपछि सन्तले उनलाई एउटा तालको नजिक लगे । पूर्णिमाको रात थियो । जून टहटह लागिरहेको थियो । तालको पानीमा जूनको प्रतिबिम्ब टल्किरहेको थियो । त्यसैलाई देखाएर सन्तले भने– त्यता हेर त, एउटा जून तालमा र अर्को जून आकाशमा देखिन्छ । तिम्रो मन तालको जूनजस्तै हो । तिमीसँग जुन ज्ञान छ, त्यसको उपयोग गर्नुको साटो तालको जूनजस्तै तिमी खालि मनमा मात्र लिएर बसेका छौ ।
तालको जून भ्रम हो । त्यसैले, काममा मन लाग्नका लागि तिमी आकाशको जूनजस्तो बन्नुपर्छ । तालको जून पानी हल्लाउँदा या ढुंगाले हिर्काउँदा हल्लिन थाल्छ, जसरी तिम्रो मन ससाना कुरामा पनि भड्किन थाल्छ । अब तिमीले आफ्नो ज्ञान र विवेकलाई जीवनमा नियमपूर्वक प्रयोगमा ल्याउनुपर्छ । आफ्नो जीवनलाई जति सक्छौ, सार्थक बनाउन र लक्ष्य हासिल गर्ने बाटोमा लगाउनुपर्छ । आफूलाई आकाशको जून बनाउने क्रममा केही समस्या आए पनि बिस्तारै त्यो नै तिम्रो जीवनको सहज पाटो बन्न पुग्छ ।