साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ। बिहीबार नेप्से ९.२३ अंकले बढेर दुई हजार ७१४.६१ विन्दुमा कायम भएको हो।
आज ३३२ कम्पनीको एक करोड ९० लाख ७५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा नौ अर्ब सात करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बुधबार नेप्से नौ अंकले घट्दा आठ अर्ब ७९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
आज व्यापार, म्युचल फन्ड र बैंक समूहको सूचक ओरालो लाग्दा बाँकी सबै समूहमा वृद्धि देखिएको छ। व्यापार समूह सर्वाधिक १.१५ प्रतिशतले घट्दा वित्त समूह सर्वाधिक (२.३८ प्रतिशत) वृद्धि भएको हो। विकास बैंक, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन समूह एक प्रतिशतभन्दा धेरैले बढेका छन्।
बढेको बजारमा एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक र त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र रावा इनर्जीको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ।
बजार बढे पनि आज कालिका पावर कम्पनीका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरै गुमाएका छन्।