अघिल्लो आइतबार चीन स्वशासित क्षेत्र तिब्बतको खासामा डढेलो लागेपछि खुद्रा व्यापारमा जाने सर्वसाधारणलाई लिपिङपारि प्रवेश गर्न दिइएको छैन । खासास्थित चिनियाँ अधिकारीका अनुसार अझै पनि डढेलो नियन्त्रणमा आएको छैन ।
नेपालीलाई खुद्रा सामान बेच्ने किराना पसले सबै आगो निभाउन रमिते गएकोले चिनियाँ क्षेत्रमा प्रवेश रोकेको हो । ‘चीनपट्टि सबै पसल बन्द छ। त्यसैले नेपाली झोलेपोकेलाई पारि जान रोकेको हो,’ अध्यागमन कार्यालयका कर्मचारी तिलक मगरले भने ।
खासा क्षेत्रमा विद्युतको ट्रान्समिटर पड्केर जंगलमा डढेलो लागेको बताइएको छ । घना जंगल रहेको खासा र रमितेमा डढेलोपछि सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ ।
लिपिङपारि खुद्रा पसलमा आउने सामग्री न्यालम क्षेत्रमा रोकिएका छन्। काठमाडौं आउने ब्ल्यांकेट, पेपर, छिटपुट सामग्री न्यालममै रोकिँदा समस्या परेको व्यापारी चेङा शेर्पाले बताए । त्यस क्षेत्रमा विद्युत् सेवा नियमित छैन । यद्यपि, तातोपानी आयात हुने सामग्री बोकेका कन्टेनर लिन नेपाली चालकलाई रमिते पुग्न रोकावट छैन। डढेलो नियन्त्रणमा आउना साथै नाकामा सर्वसाधारणको आवतजावत नियमित हुने अध्यागमन कार्यालय कोदारीले बताएको छ ।