पतञ्जली जग्गा प्रकरणको पेसी १४ माघमा

बिहिबार, ९ माघ, २०८२
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणको पेसी १४ माघका लागि तोकिएको छ । बुधबार आवश्यक कागजात आइपुगेका कारण पेसी मिति तय भएको विशेष अदालतले जनाएको छ ।

‘आज मिसिल झिकाउने आदेश भएको छ । तर, त्यो त्यसअघि नै भइसकेको आदेश हो । अख्तियारले आज फाइल ढिला ल्याएकाले फेरि पनि मिसिल झिकाउने आदेश भएको हो,’ विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले भने । उनका अनुसार पहिलेकै आदेश पुन: भए पनि पछि मात्र फाइल प्राप्त भएपछि पेसी तोकिएको हो । यद्यपि, यो पेसीमा अन्तिम सुनुवाइ नै हुने भन्ने निश्चित छैन । इजलासले देखेमा अन्तिम नभई अन्य कुनै आदेशसमेत गर्न सक्नेछ । 

विशेषका प्रवक्ता कृष्णशरण लामिछानेले भने, ‘अब १४ गतेलाई पेसी दिइएको छ । पूर्वआदेश नै हो आजको पनि । आदेशानुसारका कागज विशेषमा आइसकेको छ ।’ विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट र हेमन्त रावलको इजलासले यो मुद्दामा सुनुवाइ गर्नेछ । गत २९ मंसिरमा पनि यही इजलासले दुईबुँदे आदेश दिएको थियो । आदेशमा भनिएको थियो, ‘वादीका साक्षी विशेष सरकारी वकिल कार्यालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट र प्रतिवादीहरूको साक्षी निज प्रतिवादीहरूमार्फत झिकाई भौतिक रूपमा वा श्रव्यदृश्य माध्यममार्फत उपस्थित गराई बकपत्रको निमित्त इजलाससमक्ष पेस गर्नू ।’ साथै, यही उजुरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ मंसिर ०६९ मा तामेलीमा राखेकाले सो निर्णयसमेत झिकाउने आदेश भएको छ । 

नेपालसमेतका व्यक्तिउपर २२ जेठ ०८२ मा मुद्दा दायर भएको थियो । जसमा पूर्वप्रधानमन्त्री नेपालसमेत ९३ जना प्रतिवादी छन् । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदभन्दा बढी जग्गा खरिदबिक्रीको निर्णय भएकोमा यसमा नेपालसमेतको संलग्नता रहेको दाबी अभियोगपत्रमा छ । नेपालमाथि साढे १८ करोड रुपैयाँभन्दा बढीको बिगो मागदाबीसहित मुद्दा दर्ता भएको थियो । 

सुझावित समाचार