सुनको मूल्य एकै दिन १० हजार ४०० ले वृद्धि

सुन र डलर मूल्यमा रेकर्ड ब्रेक

बिहिबार, ८ माघ, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा सुनको मूल्य एकै दिन १० हजार ४०० रुपैयाँले बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो । बुधबार  बढेर दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो । बुधबारको वृद्धि पनि हालसम्मकै उच्च हो । पछिल्लो समय बहुमूल्य धातु सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । 

पछिल्लो एक वर्षमा सुनको मूल्य एक लाख ३८ हजार १०० रुपैयाँले बढेको छ । ७ माघ ०८१ मा सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार रुपैयाँ थियो । चालू आवमा मात्रै यसको मूल्य एक लाख तीन हजार १०० रुपैयाँले बढेको छ । गत असार मसान्तमा सुनको मूल्य एक लाख ९२ हजार रुपैयाँ थियो ।

यस कारण बढ्यो सुन
पछिल्लोपटक सुनको मूल्य बढ्नुको प्रमुख कारणमा युरोप र अमेरिकाबिच भइरहेको खटफटलाई लिइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अर्धस्वायत्त क्षेत्र ग्रिनल्यान्ड नियन्त्रणमा लिन खोजेका छन् । त्यो नदिएमा युरोपबाट अमेरिका आयात हुने वस्तुमा कर लगाउने धम्कीसमेत उनको छ । त्यसले युरोपेली अर्थतन्त्र मात्र नभएर विश्व अर्थतन्त्र प्रभावित भइरहेको छ । 

विभिन्न विश्व भूराजनीतिक अवस्थाले विश्व अर्थतन्त्र थप प्रभावित हुने देखिएको छ । त्यसपछि लगानीकर्ताहरूले सुरक्षित लगानीका लागि सुन किनेर होल्ड गरेका छन् । यसैगरी, विभिन्न देशका केन्द्रीय बैंकले पनि सुन किनेर होल्ड गरिरहेका छन् । यी यस्ता कारण विश्वबजारमा सुनको आपूर्ति प्रभावित भइरहेको छ । सोहीकारण विश्वबजारमा सुनको मूल्य बढ्न गई नेपालमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यले बताए । 

‘ग्रिनल्यान्ड सम्बन्धमा अमेरिका र युरोपबिचको विवादले विश्व अर्थतन्त्रमा अन्योल देखिएको छ । त्यसपछि लगानीकर्ताले सुन किनेर होल्ड गरेका छन् । विभिन्न देशका केन्द्रीय बैंकहरूले पनि सुन किनेर होल्ड गरेको अवस्था छ,’ उनले भने, ‘त्यसले गर्दा विश्वबजारमा आपूर्ति कमजोर भएपछि यसको मूल्य बढेको छ । विश्वबजारमा मूल्य बढेपछि नेपालमा स्वत: यसको मूल्य बढेको हो ।’

विगतमा रुस–युक्रेन युद्ध, अमेरिका–चीन व्यापार युद्ध, विश्व आर्थिक मन्दी, कोभिडजस्ता कारणले सुनको मूल्य पटक–पटक बढ्दै आएको थियो । अहिले युरोप–अमेरिकाबिचको विवाद, विश्व भूराजनीतिक तनावलगायतका कारण यसको मूल्य बढेको हो । 

अन्तर्राष्ट्रिय बजारमा कायम मूल्यका आधारमा नेपालमा सुनको बिक्रीमूल्य निर्धारण गरिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले युएईमा कायम हुने मूल्यका आधारमा हरेक दिन यसको बिक्री मूल्य तोक्छ ।  

डलरको मूल्यमा पनि रेकर्ड 
डलरको मूल्यमा पनि रेकर्ड ब्रेक भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि डलरको खरिदमूल्य १४५.२७ रुपैयाँ र बिक्री मूल्य १४५.८७ रुपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो । पछिल्लो समय डलरको मूल्यले पनि निरन्तर रेकर्ड ब्रेक गर्दै आएको छ । यसै पनि विगत केही समयदेखि नेपाली बजारमा डलरको मूल्यले पटक–पटक ‘रेकर्ड ब्रेक’ गर्दै आएको छ । विश्व आर्थिक संकट, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमन, उनले लिएका नीतिलगायतका विभिन्न कारणले डलरको मूल्य बढेको थियो । अहिले भने भारत र अमेरिकाबिचको व्यापार द्वन्द्वको कारण डलरको मूल्य बढेको हो । नेपाली मुद्रा भारतीय मुद्रासँग पेग (विनिमयदर स्थिर) छ । त्यो अवस्थामा भारतमा डलरको मूल्यअनुसार  नेपालमा घटबढ हुन्छ । 

सुझावित समाचार