१४ करोडको भ्रष्टाचार मुद्दा लागेकी पूर्वस्वास्थ्यसचिव मिश्रासँग पाँच लाख धरौटी माग

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

पूर्वस्वास्थ्यसचिव डा. संगीताकौशल मिश्रासँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।

१४ करोड ६ लाख ८५ हजार पाँच सय बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २ कात्तिकमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यही मुद्दाको थुनछेक बहसपछि अदालतले उनीसँग धरौटी माग गर्ने आदेश जारी गरेको हो।

बुधबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्रासँग धरौटी माग गर्ने आदेश गरेको हो। ‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी संगीताकौशल मिश्राबाट प्रस्तुत मुद्दा पुर्पक्षका लागि नगद धरौटी पाँच लाख रुपैयाँ वा सोबराबरको बैंक जमानत लिई निजलाई तारिखमा राख्नू’ अदालतको आदेशमा उल्लेख छ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा एमआरआई खरिद गर्दा १४ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले मिश्रा र ठेकेदारसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारको मुद्दाकै कारण जेन–जी सरकारमा स्वास्थ्यमन्त्री बन्न लागेकी उनको नियुक्ति अन्तिम समयमा रोकिएको थियो। लगत्तै मुद्दा दायर भएको थियो।

सुझावित समाचार