हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभाबाट करसहित आठ प्रतिशत नगद लाभांश पारित भएको छ । कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा मंगलबार सम्पन्न सभाले उक्त लाभांश पारित गरेको हो ।
त्यसैगरी, सभाले गत आर्थिक वर्ष ०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण आदि पारित गरेको छ । साथै, चालू आवका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि तोकिएको छ ।
कम्पनीका अध्यक्ष श्रेष्ठले प्रविधि र दक्ष जनशक्तिमा गरिएको निरन्तर लगानीले कम्पनीलाई दीर्घकालीन रूपमा सुदृढ र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे । उनले स्रोतहरूको प्रभावकारी व्यवस्थापन तथा सबै सरोकारवालाको भरोसा र सहकार्यका माध्यमबाट कम्पनीलाई थप सक्षम बनाउँदै लाने प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले विभिन्न चुनौतीका बाबजुद दीर्घकालीन स्थायित्व र सञ्चालन सुधारमा केन्द्रित रणनीतिका कारण कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको बताए ।