कञ्चनपुरको लालझाडी गाउँपालिकाअन्तर्गत चान्देव–कञ्ज सडक निर्माणमा ढिलाइ भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुने चान्देव–कञ्ज सडक स्तरोन्नति (निर्माण)मा ढिलाई भएको हो । उत्तर–दक्षिण बेलौरी–कलुवापुर सडकअन्तर्गत चान्देव गाउँदेखि पालिका मुकाम कञ्ज जोड्ने सडक निर्माण गर्न निर्माण कम्पनीले ढिलासुस्ती गरेको भन्दै नागरिक आक्रोशित भएका छन् ।
डुकुच कनक जेभी निर्माण कम्पनीले २९ करोड २६ लाख लागतमा १२.६ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको भए पनि सम्झौता गरेको आठ महिनासम्म काम सुरु नगरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । ४ जेठ ०८२ मा निर्माण कम्पनीले पूर्वाधार विकास कार्यालय कञ्चनपुरसँग सम्झौता गरेको माघ पहिलो सातासम्ममा पनि निर्माण कार्य प्रभावकारी रूपमा अघि नबढाएपछि नागरिकहरूले चिन्ता व्यक्त गरेका छन् ।
स्थानीय शिवनाथ रानाले सम्बन्धित सरोकारवाला निकायको ढिलासुस्ती, लापरबाहीले सडक निर्माणमा ढिलाइ भएको बताए । ‘ठेकेदारले सडकमा रहेका पुरानै कल्भर्टमा नयाँ हाल्नुको साटो पुरानै हालिरहेको छ,’ उनले भने, ‘एकातिर ढिला अर्कातिर पुरानैमा काम चलाइरहेका छन्, नयाँ सडकमा पुरानै सरचना किन हालियो ।’ बाढी आउने क्षेत्रमा ढल निकासविनै सडक निर्माण कार्यले झन् जोखिम निम्त्याउने बताए ।
अर्की स्थानीय पदमा चौधरीले ठेकेदार कम्पनीले उसै पनि ढिलासुस्ती गरेर सडक निर्माणमा चरम लापरबाही गरेको बताइन् । उनले जेठमा ठेक्का भएको सडक कछुवाको गतिमा निर्माण गर्न खोजिरहेको भन्दै आवतजावतमा समस्या भइरहेको बताइन् । लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले सडक निर्माण गर्ने सम्झौताको लामो समयसम्म पनि काम सुरुवात नगर्नु दु:खद विषय भएकाले यसबारे पालिकाले सम्बन्धित निर्माण कम्पनीलाई घचघच्याउने बताए । सम्झौता भएपछि पनि काम सुरुवात गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख पदम मडैले निर्माणकार्य सुरुवात नै नगरेकाले प्रगति यतिउति प्रतिशत भन्न नसकिएको बताए । कार्यालय प्रमुख मडैले निर्माण कम्पनीलाई समयमै काम गर्नका लागि ताकेता गरिने बताए । स्थानीयले ठेक्का सम्झौता भएको सडक निर्माण गर्न ढिलाइ वा गुणस्तहीन काम गरे आन्दोलनको चेतावनी दिएका छन् । तर, डुकुच कनक जेभी निर्माण कम्पनीका सञ्चालक गणेशदत्त जोशीले ठेक्का पाएपछि काम सुरु भएको बताए । आफूले नियमित काम गरिरहेको कहीँकतैबाट जनगुनासो आए सम्बोधन गरिने बताए । निर्धारित समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायी जोशीको दाबी छ ।