काभ्रेमा कांग्रेसको विशेष महाधिवेशन पक्ष र विपक्ष एक भएर लागे निर्वाचनमा

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको छ । दुईवटा निर्वाचन क्षेत्र भएको काभ्रेमा ४२ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा १८ जना र क्षेत्र नम्बर २ मा २४ जनाले उम्मेदवारी दिएको हो ।

नेपाली कांग्रेस पार्टीको तर्फबाट पनि दुवै क्षेत्रमा उम्मेदवारी दिएका छन् । दुवै क्षेत्रमा विशेष महाधिवेशन पक्षले टिकट पाएका छन् । क्षेत्र नम्बर १ मा पार्टीका जिल्ला सचिव गुणराज माेक्तानले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी दर्तामा नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षका केन्द्रीय सदस्य गणेश लामा पनि सहभागी भएका थिए ।

त्यसरी नै क्षेत्र नम्बर २ मा मधुप्रसाद आचार्यले नेपाली कांग्रेस पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी दर्ता गर्न कांग्रेसका नियमित महाधिवेशन पक्षका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादेलगायत सहभागी भएका थिए । 

नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा नेपाली कांग्रेस काभ्रेको तर्फबाट जिल्ला सभापति तीर्थ लामा, सचिवद्वय गुणराज माेक्तान, माधव ढकाल, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामा, क्षेत्र नम्बर २ का सभापति महेश खरेल, प्रदेश सभा क्षेत्रीय सभापतिहरू राम लामा, चन्द्रबहादुर लामालगायत छन् । 

त्यसरी नै कांग्रेसको नियमित अधिवेशनको पक्षमा केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाईं र गणेश लामा, पार्टीका बागमती प्रदेश महामन्त्री कञ्चनचद्र बादे, जिल्ला उपसभापतिद्वय रमेशप्रसाद हुमागाईं र ठाकुरप्रसाद न्यौपानेलगायत थिए। उनीहरू सबै कांग्रेसका उम्मेदवार जिताउन लागेका छन् ।

सुझावित समाचार