बाराको निर्वाचन क्षेत्र नम्बर १ मा सात स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्ता गर्नेमा एकजना निवर्तमान सांसदसहित २० जना रहेका छन् ।एमालेबाट केन्द्रीय सदस्य तथा निवर्तमान सांसद अच्युतप्रसाद मैनालीले निर्वाचन अधिकृतको कार्यालय कोल्हवीमा पुगेर उम्मेदवारी दर्ता गरेका छन् । योसहित उनले तेस्रोपटक निर्वाचनमा भाग लिएका हुन्। पहिलोपटक पराजित भएका मैनाली यसअघिको निर्वाचनमा निकै फरक मतसहित विजयी भएका थिए । मैनाली यसपटक जितेर जितको निरन्तरता गर्ने दाउमा छन् ।
कांग्रेसबाट पार्टीका केन्द्रीय सदस्य शम्भुबहादुर बुढाथोकीले उम्मेदवारी मनोनयन गरेका छन्। यसअघि बुढाथोकी ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नेकपा एमालेका नेता पूर्वपोलिटब्युरो तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलसँग पराजित भएका थिए। उनी यसपटक जितेर पहिलोपटक सांसद हुने दाउमा छन् ।
नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट सन्तोष दंगालले उम्मेदवारी दर्ता गराएका छन्। उनी पहिलोपटक निर्वाचनमा हाेमिएका हुन्। यसअघि नेपाल कम्युनिस्ट पार्टी माओवादीको निजगढ नगर अध्यक्ष थिए। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट गणेश धिमालले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि पराजित भएका धिमाल यसपटक भने निर्वाचनबाट आफू निर्वाचित हुनेमा विश्वस्त छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट लक्ष्मीप्रसाद साह कलवार, श्रम संस्कृति पार्टीबाट भुलावनकुमार पासवान, उज्यालो नेपाल पार्टीबाट अनवर अन्सारी, जनमत पार्टीबाट कमरुल्लाह संसारीले उम्मेदवारी दर्ता गरेका छन्। आम जनता पार्टीबाट विजय यादव, नागरिक उन्मुक्ति पार्टी नेपालबाट भुवनप्रसाद चौधरी, जनता समाजवादी पार्टी नेपालबाट रामबाबुप्रसाद यादव, मंगोल नेसनल अर्गनाइजेसनबाट सुक दोर्जे गोले र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट हमिद मन्सुरीले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ ले जानकारी दिएको छ ।
यस्तै, जयकिशोर पाण्डेय, प्रेमकुमारी थापा खड्का, विदुर खरेल, रविनादेवी चौधरी, रोशनकुमार उप्रेती, लक्ष्मीनारायणप्रसाद साह, सीमाकुमारी तिमिल्सेनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।