यसपटकको निर्वाचनमा अवकाशप्राप्त प्रहरी अधिकारीहरू पनि चुनावी मैदानमा छन् । नेपाल प्रहरीका दुई पूर्वआइजिपीले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन् । ध्रुवबहादुर प्रधान र सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् ।
प्रधान राप्रपाको काेटामा नवलपरासी २ बाट उम्मेदवार बनेका छन्। यसअघि पनि उनी सांसद भइसकेका छन् ।
त्यस्तै, अर्का पूर्वआइजिपी सर्वेन्द्र खनालले बारा ४ बाट उम्मेदवारी दर्ता गरेका छन् । उनले आफू सभापति रहेको समुन्नत नेपाली पार्टीबाट उम्मेदवारी दिएका हुन् । अघिल्लोपटक उनी नेपाली कांग्रेसबाट चुनाव लडेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट चारजना चुनावी मैदानमा छन्। पूर्वएआइजी विश्वराज पोखरेल ओलखढुंगाबाट प्रतिस्पर्धामा छन्। उनी दुई महिनाअघि रास्वपा प्रवेश गरेका हुन्।
त्यस्तै, पूर्वएसएसपी विक्रमसिंह थापा कपिलवस्तु २ बाट प्रतिस्पर्धामा छन् । अघिल्लो चुनावमा उनले नेपाली कांग्रेसबाट प्रदेश सभामा प्रतिस्पर्धा गरेका थिए ।
गुल्मी २ रास्वपाले पूर्वडिएसपी गोविन्द पन्थीलाई उम्मेदवार बनाएको छ । पन्थी एक वर्षअघि मात्र अवकाश पाएका अधिकृत हुन् । त्यस्तै, पूर्वनायब निरीक्षक शम्भु ढकाल (सुस्केरा) झापा ४ बाट उम्मेदवार बनेका छन् ।
सशस्त्र प्रहरीका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ यसपटक राप्रपाको समानुपातिक सूचीमा छन् । अघिल्लो निर्वाचनमा उनी काठमाडौं ४ बाट प्रत्यक्ष निर्वाचन लडेका थिए।