चितवन ३ मा सोबिता गौतमको उम्मेदवारी

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोबिता गौतमले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी मनोनयन दर्ता गराएकी छिन्।

भरतपुर– १५ स्थित रामपुर क्याम्पसमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर गौतमले मंगलबार उम्मेदवारी दर्ता गराएकी हुन्। गौतमको प्रस्तावकमा रास्वपा जिल्ला सभापति कृष्णप्रसाद भुसाल र समर्थकमा भरतपुर महानगरपालिका उपसभापति आशिष लो तामाङ रहेका छन्।

गौतमको घर भरतपुर– १५ मंगलपुरमा पर्छ। उम्मेदवारी दर्ता गराउन तीन क्षेत्रमा पर्ने सबै वडाका प्रतिनिधिहरू, परिवारका सदस्य, शुभचिन्तक निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। गौतम ०७९ को निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित भएकी थिइन्। उनले पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गरेकी थिइन्। यसपटक गौतम आफ्नै गृहनगर चितवन ३ बाट प्रतिस्पर्धा गर्न लागेकी हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले चितवनमा रास्वपा घण्टी किल्लाकै रूपमा उदयीमान भइरहेको र चितवनवासी जनताको मागअनुसार उम्मेदवारी दिएको बताइन्। ‘यसपटक हामीले चितवनका तीनवटै क्षेत्रमा सशक्त ढंगले चितवनवासी जनताले माग गरेबमोजिमको आधारशीला तय भइरहेको जस्तो लाग्छ,’ उनले भनिन्।

रास्वपाले जनताले चाहेको परिवर्तनअनुसार नयाँ र युवालाई समेटेर देशव्यापी रूपमा अगाडि बढेको उनको भनाइ थियो। गौतमले निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र जनताले चाहेबमोजिम हुनुपर्ने बताइन्।

सुझावित समाचार