प्रेम प्रस्ताव अस्वीकार गरेकी करिब १६ वर्षीया बालिका हत्यामा संलग्न भई फरार रहेका आरोपीलाई सिराहा प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिराहाको साबिक बेलहा गाविस– ७ (हाल कल्याणपुर नगरपालिका) की बालिकालाई १३ मंसिर ०६३ मा घाँटी थिचेर हत्या गरी फरार रहेका आरोपी करिब ४९ वर्षीय उत्तिम मुखियालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आरोपी मुखियालाई खोजतलासको क्रममा शुक्रबार घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार अनुसन्धानको क्रममा बालिकालाई फकाइफुल्याई माया–प्रेमको कुरा गर्दै प्रेम प्रस्ताव राखेको, तर बालिकाले अस्वीकार गरेपछि मुखिया सल र हातले घाँटी थिची हत्या गरेर फरार भएका थिए ।
बालिकाको हत्यापछि छिमेकी मुलुक भारतमा लुकिछिपी बस्दै आएका उनलाई गाउँ आएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी सिराहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।